ट्रेन्डिङ

भोजपुरी प्रतिष्ठान वीरगन्जको आयोजनामा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

वीरगन्ज । भोजपुरी प्रतिष्ठान वीरगन्जले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत शुक्रबार कन्या माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले मधेशमा भोजपुरी भाषाको प्रचलन र यसको महत्वको बारेमा प्रकाश पार्दै सबैलाई आफ्नो मातृभाषाको विकासमा योगदान पुर्याउन आह्वान गरे।

उनले भाषा भनेको के हो, यसको अवस्था र विकासका उपायहरूको बारेमा विद्यालयका कक्षाका विद्यार्थीहरूसँग छलफल गरे ।

प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकलाको महत्व र यसलाई संरक्षण गर्ने उपायहरूको बारेमा जानकारी दिए ।

उनले विद्यार्थीहरूलाई चित्र कोर्ने सजिलो उपायहरूको बारेमा प्रयोगात्मक जानकारी प्रदान गरे। कवि र गीतकार आमोद गुप्ताले भोजपुरी गीतमार्फत भाषा र संस्कृतिको महत्वको सन्देश दिए । उनले आफैले लेखेका कविता पनि वाचन गरे र भोजपुरी तथा अन्य कविता लेखनका लागि आवश्यक जानकारी प्रदान गरे ।

कार्यक्रममा श्याम सर्राफले मातृभाषाको प्रयोगमा लाज नगरी यसको सकारात्मक पक्षलाई आत्मसात गर्न आग्रह गरे। उनले विरासतमा प्राप्त लोक धुन र लोक गीतहरूको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन माधुरी महतोले गरेकी थिइन् । कार्यक्रममा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

भोजपुरी प्रतिष्ठानले आगामी दिनहरूमा पनि यस अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै