जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्री फेर्दै नयाँ अनुहार पठाउने निर्णय गरेको छ।
पार्टीले उद्योग र वन मन्त्रालयको जिम्मेवारीका लागि बसन्त कुमार कुशवाहा र सञ्जय यादवलाई पठाउने भएको छ । जनमत पार्टी सरकारमा सहभागी भएको करिब एक वर्षपछि मन्त्री फेरबदलको निर्णयमा पुगेको हो ।
यसअघि बिहीबार नै पार्टीले उद्योग मन्त्री त्रिभुवन साह र वन तथा वातावरण मन्त्री सकिल अलीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कुशवाहालाई उद्योग मन्त्री र यादवलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइनेछ ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले आज साँझ ७ बजे उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
शपथ ग्रहणपछि दुवैले आफ्नो कार्यभार सम्हाल्ने तयारी भइरहेको जनाइएको छ।
जनमत पार्टीले यो फेरबदल पार्टीभित्रको आन्तरिक समीकरण, कार्यसम्पादन मूल्यांकन र आगामी राजनीतिक रणनीतिअनुसार गरिएको बताएको छ।
नयाँ मन्त्रीहरूले प्रदेश सरकारमा जनमतको उपस्थितिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।