ट्रेन्डिङ

जेष्ठ १५ लगतै प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँछ : मन्त्री लेखी

जनकपुरधाम । मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम जेष्ठ १५ लगत्तै ल्याउने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मधेस सरकारका प्रवक्ता लेखीले सो कुरा बताउदै मधेश सरकारले नीति तथा कार्यक्रमको तयारी तीव्र रुपमा गरिरहेको जानकारी गराए । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२÷०८३को बजेट तथा कार्यक्रमको तैयारी तिव्र गतिमा भईरहेकोले असार १ गते अघि नै मधेस सरकारको निति,कार्यक्रम तथा बजेट आउनेमा आश्वस्त रहन मन्त्री लेखीले सबैलाई आग्रह गरे ।

सरकारको यस पटकको बजेट लोककल्याणकारी, सञ्चारमैत्री र दिगोपना हुने गरी मन्त्रिपरिषद्ले तयारी गरिरहेको बताए । सञ्चार मन्त्री लेखीले चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले सञ्चार मन्त्रालयलाई न्यून बजेट विनियोजन गरेका कारणले पत्रकारिता क्षेत्रका लागि गर्नुपर्ने काम गर्न नसकेको बताउनु हुँदै यसपालीको बजेटमा पर्याप्त बजेट विनियोजन गर्न आफू प्रयासरत रहेको बताए ।

गृहमन्त्री लेखीले मधेश प्रदेशको शान्ति सुरक्षा र सिमा सुरक्षामा अहोरात्र तैनाथ रहने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संरचनाहरू निक्कै कमजोर रहेकाले ती संगठनका संरचनाहरूको प्रबलीकरण, स्तरोन्नति तथा नयाँ संरचनाको निर्माणमा बजेट मार्फत उचित व्यवस्थापन हुने समेत बताए ।

उनले शहिद परिवारका सन्तानलाई प्रदान गरिदै आएको छात्रवृत्ति कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिने गरि ५० लाख रकम विनियोजन गर्नुका साथै शहिद परिवारलाई आत्मनिर्भर, सक्षम र सवल बनाउनको लागि विभिन्न खालको आयमुलक, सीपमूलक तालिम सहित रोजगारका लागि आवश्यक उपकरण प्रदान गरिने तयारीमा रहेको जानकारी दिए ।

मन्त्री लेखीले पत्रकारहरुको दुर्घटना विमाले विमा कम्पनीलाई मात्रै फाईदा भईरहेको बताउदै सबै पत्रकारहरुले लाभ लिउन भन्ने उद्देश्यले पत्रकारहरूको दुर्घटना वीमालाई जीवन वीमा रुपान्तरणका लागि अगामी आर्थिक वर्षमा बजेट व्यवस्थापनको प्रयास गरिने बताए ।

मधेश प्रदेशका ज्येष्ठ पत्रकारहरूको सम्मानका कार्यक्रमहरु पनि गरिने जानकारी गराए । त्यसलगत्तै गृह मन्त्रालयले अगामी ९ गते आयोजना हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीको तैयारीको लागि प्रदेश सुरक्षा समितिको बैठक पनि बसेका छन् । बैठकले गोष्ठीको तैयारी गर्ने निर्णय समेत गरेको मन्त्री लेखीले जानकारी गराए।

सुरक्षा समितिको बैठकमा नेपाली सेना, मध्यपूर्वी पृतना हेड क्वाटर बर्दिवास,महोत्तरीका उपरथी कृष्ण बहादुर जि.सी., गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचीव विमलप्रसाद बराल, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल उपस्थित रहेका थिए ।

त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपती कृष्ण ढकाल,राष्ट्रिय अनुसन्धान मधेश प्रदेशका अनुसन्धान निर्देशकमाधव प्रसाद तिमिल्सिना लगायतका पदाधिकारीहरुको उपस्तिथि रहेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै