ट्रेन्डिङ

सुकुम्बासीको अधिकारका लागि निर्णायक संघर्षमा उत्रिने : आजपा अध्यक्ष प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशभरका सुकुम्बासीहरुलाई गोलबन्द गर्दै लालपुर्जा, खानेपानी र बिजुली दिलाएरै छाड्ने अठोट सार्वजनिक गरेका छन्।

उनले सुकुम्बासी बस्तीमा आधारभूत सेवा सुविधा रोकिएकोप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै खुला प्रश्न गरेका छन्— ‘दुई तिहाइको शक्तिशाली सरकारले सुकुम्बासीलाई खानेपानी किन रोक्यो ?’

बुधबार काठमाडौंको गैरीगाउँमा आयोजित आम अव्यवस्थित बसोबास एवं सुकुम्बासी संघको विशेष बैठकलाई सम्बोधन गर्दै साहले सुकुम्बासीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अब निर्णायक संघर्षका कार्यक्रम अघि सारिने स्पष्ट पारे।

उनले भने, ‘अब हामी कुनै दल वा सरकारले सुकुम्बासीमाथि अन्याय गर्न नदिने। शुद्ध खानेपानी, लालपुर्जा र बिजुली पाउनु सुकुम्बासीको हक हो, दया होइन। राज्यले मत लिन्छ, कर लिन्छ तर सेवा सुविधा रोक्छ— यो मानवता विरुद्धको अपराध हो।’

भूमि आयोगमाथि गम्भीर आरोप
साहले सुकुम्बासी समस्या समाधान गर्न गठन गरिएको भूमि आयोगलाई ‘कार्यकर्ता पाल्ने र जनता झुक्याउने मेलो’ भएको आरोप लगाए। उनले आयोगको कार्यशैलीले समस्या समाधानको सट्टा राज्यको ढुकुटी रित्त्याउने मात्रै काम गरिरहेको बताए।

उनले प्रश्न उठाए— ‘सच्याउने होइन भने, पटक–पटक आयोग बनाउने केका लागि ? साँचो सुकुम्बासी अझै लालपुर्जाको प्रतीक्षामा छ, तर आफ्ना कार्यकर्ता आयोगमा राखेर सेवा सुविधा तिनैलाई बाँड्ने प्रवृत्ति किन ?’

आजपा अध्यक्ष साहले यदि सुकुम्बासीहरूको आवाज सुनिएन भने कडा आन्दोलनको चेतावनी पनि दिएका छन्। ‘अब हामी चुप लाग्दैनौं। अबको आन्दोलन निर्णायक हुनेछ,’ उनले दोहोर्‍याए। साहले आफ्नो सम्बोधनमा सुकुम्बासीहरूलाई संगठित भएर अधिकारका लागि सडकमा उत्रिन आह्वान गरे। ‘बालुवाटार, ललिता निवास, पतञ्जलीका जग्गा शक्तिशालीले कब्जा गर्न सक्छन् भने, सुकुम्बासी पनि आफ्नो बाँच्न पाउने हकका लागि उठ्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै