जनकपुरधाम । करिब दुई साताको प्रतीक्षापछि नेकपा ९एमाले० धनुषाको नेतृत्व चयनका लागि आज मतदान प्रक्रिया सुरु भएको छ।
जनकपुरस्थित निधि भवनमा बिहान ११ बजेदेखि मतदान सुरु भएको हो। एमालेको जिल्ला अधिवेशन अन्तर्गत हुने यो निर्वाचन २२ वैशाखमा हुने तय भए पनि अन्तिम नामावलीको विवादका कारण स्थगित गरिएको थियो। आन्तरिक सहमतिसहित पुनः प्रक्रिया अघि बढेसँगै आज मतदान सुरु गरिएको अध्यक्ष पदका उम्मेदवार भोला यादवले जानकारी दिए।
६२८ मतदाता, १३५ पद, दुई पक्षबीच प्रतिस्पर्धा
निर्वाचन समितिका अनुसार ६२८ जना प्रतिनिधिहरूले १३५ पदका लागि मतदान गर्दै छन्। मतदान दिउँसो सवा २ बजेसम्म चल्ने जनाइएको छ। अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादव समूहबीच सिधा प्रतिस्पर्धा भइरहेको छ। निर्वाचनमा दुबै पक्षले आ–आफ्नो पक्षमा बहुमत जुटाउने दाबी गरेका छन्।
२२ वैशाखमा हुन लागेको निर्वाचन अन्तिम नामावली सार्वजनिक गर्ने विषयमा उत्पन्न विवादपछि स्थगन गरिएको थियो। त्यसयता मतदाता सूची, उम्मेदवारी र आन्तरिक समन्वयमा सहमति जुटाउन समय लागेपछि मतदान आज सम्पन्न भइरहेको हो। पार्टीको स्थानीय संगठनलाई अझ सुदृढ बनाउने उद्देश्यसहित भइरहेको यो निर्वाचनले एमालेको धनुषा जिल्ला राजनीतिमा नयाँ नेतृत्व को आउँछ भन्ने चासो बढाएको छ।