वीरगन्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधवार बिहान वीरगन्ज महानगरपालिका–१६, नयाँ बसपार्क क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति, वीरगन्ज महानगरपालिका, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम बिहान ७ :४५ बजे सुरु भई ८ :४५ बजे सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति, खुमलटार ललितपुरका अध्यक्ष डा. किरण पौडेल थिए। अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए। कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विशिष्ट सहभागीहरूमा भारतको महावाणिज्य दूतावास वीरगंजका प्रतिनिधि, सशस्त्र प्रहरी बलका उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका नायव उपरीक्षक किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय विर्ताका निरीक्षक निरोज चौलागाईं लगायत विभिन्न निकायका अधिकारीहरू सहभागी थिए।
कार्यक्रममा कुल १०१ विभिन्न प्रकारका बिरुवा रोपिएको आयोजक संस्थाले जानकारी दिएको छ।
चुरे संरक्षण र हरियाली विस्तारको सन्देश
कार्यक्रमले वातावरणीय सन्तुलन, हरियाली प्रवर्द्धन र चुरे संरक्षणको सन्देश दिएको आयोजक संस्थाहरूले बताएका छन्। सहभागीहरूले सामुदायिक सहयोगमा आधारित यस्ता कार्यक्रमले पर्यावरणीय चेतना जगाउने विश्वास व्यक्त गरेका छन्।