ट्रेन्डिङ

गठबन्धन सरकार २०८४ सम्म कायम रहने : एमाले महासचिव पोखरेल

वीरगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालको सत्ता गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्म निरन्तर रहने दाबी गरेका छन्।

प्रेस चौतारी नेपाल, दाङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारको स्थायित्वमा आशंका उत्पन्न गर्ने प्रवृत्तिको आलोचना गरे। महासचिव पोखरेलका अनुसार सत्तारुढ दलहरूबीच आपसी समझदारी कायम रहेसम्म सरकार टिकिरहने निश्चित छ। ‘दुई ठूला दलबीच सहमति कायम रहँदा सरकार परिवर्तन हुने सम्भावना छैन’ उनले भने, ‘असमझदारी उत्पन्न भए मात्र परिवर्तन सम्भव हुन्छ।’

उनले पछिल्लो समय गभर्नर नियुक्ति लगायतका विषयलाई लिएर फैलाइएका ‘सरकार ढल्ने’ हल्लाहरूलाई निराधार भने। ‘गभर्नर नियुक्तिको विषय बहाना मात्र हो, केही दिन शान्त हुन्छ, फेरि नयाँ बहानामा सरकार ढल्ने चर्चा गरिन्छ,’ पोखरेलले स्पष्ट पारे।

अस्थिरतामा रमाउने प्रवृत्ति
पोखरेलले नेपालमा अस्थिरताबाट लाभ उठाउने मानसिकता विकसित भएको आरोप लगाए। ‘राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजले स्थायित्व र समृद्धिको पक्षमा सोच्न सकेका छैनन्,’ उनले टिप्पणी गरे, ‘अस्थिरताको हल्ला फैलाउने क्रम राष्ट्र कमजोर बनाउनेतर्फ लम्किएको छ।’ उनले दोहोऱ्याएर भने, ‘जति अस्थिरता हुन्छ, त्यति सुशासन कमजोर हुन्छ, विकास रोकिन्छ।’

साना दलहरूको भूमिकाप्रति प्रश्न
पोखरेलले साना दलहरूले ठूला दलहरूलाई कमजोर बनाउने रणनीतिमा लागिरहेको आरोप लगाए। माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गर्दै उनले भने, ‘सत्ताबाट टाढिएपछि ती दलहरूले एमालेविरुद्ध सङ्गठित रूपमा प्रहार गर्न थालेका छन्।’ रास्वपा सभापति रवि लामिछानेको हिरासत प्रकरणसँग सम्बन्ध राख्दै पोखरेलले त्यस घटनालाई ‘आफ्नै कर्मको परिणाम’ भनेका छन्।

निर्वाचनसम्म स्थायित्वको प्रतिबद्धता
पोखरेलले वर्तमान सरकार स्थायित्व, विकास र कानुन सुधारतर्फ अघि बढिरहेको दाबी गरे। ‘दुई ठूला दल मिलेर सरकार चलाउँदा कानुन निर्माणदेखि विकाससम्मका काममा गति आएको छ,” उनले भने, “२०८४ को चुनावसम्म यो गठबन्धन कायम रहनेछ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको उपलब्धिहरूको पनि चर्चा गरे र सकारात्मक कामको सकारात्मक मूल्याङ्कन आवश्यक भएको बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै