वीरगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ गतेदेखि राजावादीहरुले घोषणा गरेको आन्दोलनलाई जनताविरुद्धको प्रहार बताएका छन्।
मंगलबार दाङमा आयोजित ४१औं नेत्रलाल पौडेल ‘अभागी’ स्मृति दिवसमा बोल्दै पोखरेलले गणतन्त्रको उपलब्धि विरुद्ध भ्रम फैलाउँदै राजसंस्थाका समर्थकहरूले आन्दोलनको नाममा निरंकुशताको पक्षपोषण गरिरहेको टिप्पणी गरे।
‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन’
पोखरेलले राजसंस्थाको इतिहासप्रति आलोचनात्मक धारणा राख्दै भने, ‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन। उनीहरूले जनतालाई निरंकुशताको जाँतोमुनी पिसेर लामो समय शोषणको शासन चलाए।’ उनका अनुसार, राजावादी आन्दोलन कुनै दलको विरोध होइन, नेपाली जनताको सार्वभौम अधिकारविरुद्धको साजिश हो। उनले यस्तो आन्दोलनविरुद्ध सजग रहन र जनतालाई सचेत पार्न एमाले तयार रहेको बताए।
विदेश पलायनको चिन्ता, युवालाई देशमै पसिना बगाउन आग्रह
स्मृति सभामा पोखरेलले युवाहरूको विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै भने, ‘देश छोडेर देश निर्माणका कुरा गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दैछ। विदेश गएर देश बन्दैन, आफ्नै देशमा पसिना बगाउनुपर्छ।’ उनले बाध्यतावश जाने युवाहरूको पीडा स्वीकार गरे तापनि, धेरै युवाहरू रहरले विदेश गइरहेको र यो प्रवृत्ति रोक्न एमालेले नेतृत्व लिने बताए।