सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा दुईजना झुन्डिएको अवस्थामा भेटिएका छन् ।
नगरपालिकाको वडा नम्बर ३ तत्मा टोल बस्ने शंकर दासको १७ वर्षीया छोरी नन्दनी कुमारी दास झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
आइतबार दिउँसो करिब साढे तिन बजेको समयमा घरमा कोही नभएको बेलामा आफ्नै घरको माथिल्लो तलामा रहेको काठको बलोमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
त्यस्तै कञ्चनरुपकै वडा नं.८ स्थित रहेको चन्द्र नहर सिँचाइ उपभोक्ता संस्थाको कार्यालयको कार्यालय प्रमुखको कोठामा एक युवक डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा तिरहुत गाउँपालिका–३, गोइठी बस्ने २० वर्षीय कमलकान्त माहात्मान यादव रहेका प्रहरीले जनाएको छ ।
मृतक यादवका बुवा सोही सिचाइ उपभोक्ता संस्थाको कार्यालयमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए र मृतक कमलकान्त बुवासंगै बस्दै आईरहेका थिए ।
घटनाको समयमा कार्यालयमा कोही व्यक्ति नरहेको तथा कार्यालय बन्द रहेको जनाइएको छ ।
घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोली र सोको अर्थात् ‘सिन अफ क्राइम अफिसर’ को समूह घटनास्थलमा पुगेर अनुसन्धान थालेको बताइएको छ ।
प्रहरीका अनुसार दुबै जनाले आत्महत्या गरेको हुन सक्ने अनुमान छ ।
सिचाइ कार्यालयको घटनामा प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रारम्भ गरेको थियो ।
मृतकहरुको शवलाई पोष्टमार्टमका अस्पताल पाठाएको जनाएको छ।