
बीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मेघ गर्जनसहित भारी वर्षा हुने भएको हुँदा त्यसबाट सावधानी अपनाउन अनुरोध गरेको छ ।
बिहिबार साँझ एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभागको बुधबारको मौसम पूर्वानुमानको सूचना बमोजिम मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएकोले तराइ भु–भागका केहि स्थानहरुमा हावा हुरीको समेत जोखिम रहेको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले विपतका यस्ता जोखिमहरुबाट पर्न सक्ने क्षतीबाट बच्ँन सबैलाई सावधानी अपनाउन अपील गरेका हुन् ।
उनले जिल्लाका सबै सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह एवम् जनसमुदायलाई सुरक्षित रहन अनुरोध गरेका छन् ।
‘जल तथा मौसम विज्ञान विभागको सूचना बमोजिम देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने तथा सबै प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ, सूचनामार्फत उनले भनेका छन्, ‘सो सूूचना बमोजिम मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र तराई भू–भागका केहि स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको जानकारी प्राप्त भएकाले जिल्लास्थित सबै सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह एवम् सम्पूर्ण जनसमुदायलाई सजग रहन, सुरक्षित रहन र आवश्यक सावधानीका उपायहरु अवलम्बन गर्न अपील गर्दछु ।’
वर्षा, बाढी तथा हावा हुरीबाट हुन सक्ने सम्भावित क्षती न्यूनीकरण गर्नका लागि सबैले हातेमालो गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भुषालको आग्रह छ ।