
कलैया । अब पनि विद्युत्को समस्या समाधान नभए अर्को बर्षदेखि बारा सदरमुकाम कलैयामा बिना विद्युत् बस्नुपर्ने दिन आउन सक्ने डरलाग्दो कुरा बाहिर आएको छ ।
नेपाल विद्युत प्राधिकरण कलैयाका प्रमुख ईन्जिनियर हिमान्सु कुमार यादवले सबैलाई लाईन चाहिने तर विद्युत पोल गाड्न कसैले नदिने प्रवृत्तिले समस्या बढ्दै गएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरण, कलैया शाखाले भने प्रविधिगत समस्या तथा मर्मत सम्भारका कारण अस्थायी रूपमा विद्युत् आपूर्ति सेवा प्रभावित हुँदै आएको जनाएको छ ।
शाखा प्रमुख ईन्जिनियर यादवका अनुसार, ‘लाइनको भार बढेको, उपकरण मर्मत र अन्य प्राविधिक कारणले केही समय विद्युत् आपूर्तिमा बाधा आएको हो। यादवले पहिलाको तुलनामा भार अत्यधिक वृद्धि भएको र स्रोत अपुग रहेको बताए । लोड बढी भएको कारण ३३ केभी लाईनको सर्किट बारम्बार ट्रीप हुने गरेको समस्या समेत थपिएको उनले बताए ।
हुरि बतास, बर्षाको कारण नयाँ लाईन बनाउँदा वा ट्रान्सफरमर जडान अपग्रेड गर्दा, लाईन काटेर कार्य गर्नु पर्ने भएकोले पनि केही समस्या हुनेगरेको उनको भनाई छ । यादवले हुकिङ्ग गरी विद्युत चुहावट गर्दा तार जुद्धने र यसले फ्युज जाने, तार झरने, ट्रन्सफर्मर जलने जस्ता समस्या आइरहेको उनको भनाई छ ।
‘लो रेटिङ कन्डक्टर’ बदली गर्दा वीरगन्ज क्षेत्रका स्थानीयले ३३ केभिको लाईन ल्याउन नदिएकोले पनि समस्या बल्झिने गरेको उनले बताए । प्रमुख यादवले विद्युत् चोरी पनि धेरै बढेकाले सबै सम्बन्धित पालिका प्रमुखहरुको यसमा ध्यानाकर्षण हुनुपर्नेमा उनले जोड दिए ।
यता, वितरण केन्द्रका सुपरभाईजर दिपेन्द्र कुमार साहले तत्काल पहल गरेर केही कार्य गराउन जनता, जनप्रतिनिधि र सरोकारवालाले सहयोग गरे कलैयाको विद्युत कट्ने समस्या समाधान भएर जाने बताए । साहले दिएका सुझावमा पिलुवा–कलैया ३३ केभिलाई यथाशीघ्र सुचारु गर्नु पर्ने बताए ।
कोल्भि ३३ केभी लाईन सुचारु हुने अवस्थामा रहेकोले कोल्बी– १, महवामा स्थानीयको अवरोधका कारण सुचारु हुन नसकेकोले कलैयाको लोड घटाउन समस्या देखिएको उनको भनाई छ ।
उनले ४ बर्षदेखि आफुहरुले जति गरेपनि सफल नभएकाले सबै सरोकारवालाको सहयोगको आवश्यकता रहेको बताए ।