बीरगन्ज । पर्सा जिल्ला विपत्बाट उच्च जोखिममा पर्ने भएपछि सुरक्षा निकायहरु ‘हाइ–अलर्ट’ मा छन् । विपत्बाट पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै त्यसको जोखिमलाई निस्तेज पार्न सुरक्षा निकायहरु ‘हाइ–अलर्ट’मा राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल पर्साले विपद् व्यवस्थापनको सामना गर्न तयारी अवस्थामा रहेको बताएको छ । पर्सा जिल्ला उच्च जोखिमको सूचिमा परेको जानकारी पाएसँगै आफूहरु विपद्को सामना गर्न ‘अलर्ट’ बसेको सशस्त्र प्रहरीले जनाएको हो ।
जल तथा मौसम विभागले बुधबार बुधबार विशेष बुलेटिन जारी गर्दैै ‘रेड जोन’ मा परेका जिल्लाहरुको नामावली सार्वजनिक गरेको थियो । जसमा मधेसका पर्सासंगै अन्य दुइ जिल्ला ‘रेड जोन’ रहेका छन् । मौसम विभागले पर्सा जिल्लालाई विपत्को उच्च जोखिममा पर्ने जिल्लाको सूचिमा राखेपछि सुरक्षा सतर्कता अपनाइएको छ ।
खासगरी जिल्ला प्रशासन कार्यालय अन्तर्गतको विपत् व्यवस्थापन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितका निकायलाई विपत्बाट हुन सक्ने क्षतिलाई रोक्नका लागि हाइ–अलर्टमा राखिएको जिल्ला प्रशासन कार्यालय पर्साका सिडिओ दिनेश सागर भूसालले बताए ।
उनका अनुसार विपत्मा खटिने सबै निकायहरुलाई पूर्व तयारीका साथ बस्न निर्देशन गइसकेको छ । त्यही अनुसार सम्बन्धित निकायले आफ्नो सतर्कता अपनाइसकेको उनको भनाइ छ ।
कसरी हुन्छ सामना ?
मौसम विज्ञान विभागले बुधबार विशेष बुलेटिन जारी गर्दै आगामी तीन दिन धेरै वर्षा हुने जानकारी गराउँदै मधेशका तीनसहित ५६ वटा जिल्लालाई उच्च जोखिमको सूचिमा राखेको छ ।
अर्थात् विभागले मधेशका पर्सा, सिरहा र सप्तरीसहित देशभरका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । विभागका अनुसार शुक्रबार, शनिबार र आइतबार धेरै वर्षा हुने प्रक्षेपण छ । त्यस अनुसार ५६ वटा जिल्लामा ‘रेड अलर्ट’ जारी गर्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।
यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल पर्साले तयारी अवस्थामा रहेको जानकारी दिएको हो । सशस्त्र प्रहरी बल पर्साका प्रमुख राधेश्याम धिमालले आफूहरू विपद्का कारण आइपर्ने घटनाहरूको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको बताए । उनले सशस्त्र प्रहरीका सबै युनिटहरू स्रोत, साधनसहित उच्च सतर्कताका साथ बसिरहेको जानकारी दिए ।
त्यसैगरी बाढी, पहिरो र डुबानबाट प्रभावित हुनेहरुका लागि उद्दारका लागि ‘डिजास्टर रेस्क्यु टिम’ एवम् ‘स्पेशल’ टोली ‘हाई अलर्टमा’ बसेको सशस्त्रका एसपी धिमालले बताए । ‘विपद् प्रभावितलाई उद्दारका लागि ३० देखि ३५ जनाको स्पेशल टोली ‘अलर्ट’ मा छन् । स्वास्थ्यकर्मीहरु, रेडक्रस सोसाइटी, निजी क्षेत्रहरु समेत विपत्मा जरुरी पर्न सक्ने सहयोगका लागि जुटेका छन्,’ उनले भने ।
प्रभावितहरुलाई कति ठाउँमा राखिने ?
बाढी, पहिरो तथा डुुबानबाट पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै जिल्लाभर एक हजार प्रहरी तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजारको हाराहारीमा प्रहरीहरु तयार अवस्थामा राखिएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी भुुषालले जिल्लाभर एक हजार प्रहरीको टोली तयारी अवस्थामा बसेको बताए । उनका अनुसार प्रभावितको उद्दारका लागि ‘रेस्क्यु’ गर्न मात्र तालिम प्राप्त प्रहरी ३५० को सङख्यामा छन् ।
बाढी, पहिरो तथा डुुबान प्रभावितहरुलाई उद्दारका लागि ४ वटा ‘बोट’ ‘स्ट्याण्डबाइ’ राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिडिओ भुसाल भन्छन्, ‘हामीलाई अरु बोट चाहिएमा त्यो व्यवस्थापन गर्न समस्या हुँदैन, किनकी सशस्त्र प्रहरी बलले बासँबाट बोट बनाउन मिल्ने अभ्यास पनि गरिसकेको छ । त्यसकारण अब बोटको पनि हामीलाई समस्या हुँदैन ।’
यसैगरी जिल्लाभरका ३८ ठाँउमा प्रभावित भएकाहरुलाई उद्दार गरेर अस्थायी रुपले राख्ने व्यवस्था मिलाइएको उनले सुनाए । उनले भने, ‘जिल्लाका ३८ स्थान पहिचान गरी छुट्टाएका छौ, त्यसका बाबजुद विद्यालय, क्याम्पस लगायत खुला चौरहरुमा प्रभावितहरुलाई उद्दार गरी राख्ने योजना छ । खाली जग्गामा प्रभावितलाई अस्थायी रुपले व्यवस्थापन गर्न कुनै गाह्रो हुदैँन । त्यहीकारण जरुरी परेको खण्डमा आवश्यकता अनुसार उनीहरुलाई मिलाएर राख्नेछौँ ।’
साथै अस्थायी क्याम्प खडा गर्न चार हजार टेन्ट आइसीपी कार्यालयमा तयारी अवस्थामा राखिएको प्रमुुख जिल्ला अधिकारी भुुषालले जानकारी दिए । उनले भने, ‘मान्छेहरू बाढी, पहिरो, डुबानका घटनाले विस्थापित हुन्छन्, जुन बेला सबैलाई ग्राहो हुन्छ । यस्तो बेलामा हामीले अस्थायी रूपमा क्याम्प खडा गरेर राख्न तयारी गरेका छौं, जसका लागि ४ हजार टेन्ट तयारी हालतमा छ । अन्य आवश्यक उपकरणहरूलाई पनि हामीले विभिन्न पालिकाहरुमा तयारी अवस्थामा राखिराखेका छौँ ।’
के भन्छन् सिडिओ ?
प्रभावितहरुका लागि आवश्यक पर्ने खाद्यान्न तथा गैर खाद्यान्न सामग्रीहरु समेत उपलब्ध गराउन निजी संस्थाहरु तयार रहेको उनले बताए । विपत्को सामना गर्न नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरी बल तम्तयार अवस्थामा बसेको र जस्तोसुकै विपत् आइपरेपछि त्यसको डटेर सामना गर्ने उनको भनाइ थियो ।
विपद् व्यवस्थापनका लागि सबै निकायहरूको उत्तिकै भूमिका हुने भन्दै सिडिओ भुुषालले त्यसको लागि सबै निकायहरूले उत्तिकै भुमिका खेल्नुपर्ने जरुरी रहेको बताए ।
जिल्लामा पहिरोको ‘भय’ नरहेपनि बाढी र डुुबानको भने खतरा रहने भएकाले सतर्क रहन अपील गरे । उनले भने, ‘यो जिल्ला होचो भागमा छ, त्यसैले पहिरोको जोखिम छैन तर बाढी र डुुबानको भने समस्या यहाँ देखिएको छ । त्यहि कारणले यो तीन दिन सुरक्षित भएर बसिदिनुहोला ।’
उनले विपत्बाट विशेषगरी बालबालिका, वृद्धवृद्धा लगायतलाई सुरक्षित राख्न आग्रह गरेका छन् । यसैगरी अत्यावश्यक कामभन्दा बाहेक सडक यातायातको प्रयोग नगर्न, सम्भावित विपद्को जोखिम रहेको स्थान भए नजिकैको प्रहरी बललाई जानकारी गराउन वा सशस्त्र प्रहरी बल मधेश प्रदेशको टोल फ्रि नम्बर १११४ मा सम्पर्क गर्न समेत अपिल गरेको छ ।