वीरगन्ज। प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा नेकपा एमालेले प्रदेश सभाका निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको छ ।
एमालेबाट निर्वाचित प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यसँगको भर्चुअल बैठक मार्फत छलफल भएको हो ।
बैठकको आरम्भमा पार्टी उपाध्यक्ष तथा सङ्घीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केन्द्र सरकारको तर्फबाट अवलम्बन गरिएका सोच र प्रदेशले बजेट तयार गर्दा ध्यान दिनुपर्ने विषयमा विचार व्यक्त गरेका थिए ।
छलफलमा सातवटै प्रदेशका नेकपा एमाले प्रदेश सभा दलका नेता र मुख्यमन्त्रीहरूले विचार राखेका थिए ।
बैठकको सहजीकरण केन्द्रीय कार्यालयका तर्फबाट गरिएको थियो । बैठकमा पार्टी महासचिव शंकर पोखरेलले पनि धारणा राखेका थिए ।