वीरगन्ज । सार्वजनिक स्थानमा जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचनाहरू हटाउने कार्यमा वीरगन्ज महानगरपालिका थप कडा बनेको छ ।
सडक, फुटपाथ र अन्य सार्वजनिक स्थलहरूलाई पैदलयात्री तथा सवारी सञ्चालनका लागि सहज बनाउन सुरु गरिएको यस अभियानले अब निरन्तरता पाउने भएको छ।
सोही अभियान अन्तर्गत सोमबार जगरनाथपुर वडा नम्बर २२ मा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे रूपमा थन्काएर राखिएको एउटा पुरानो रोलर हटाइएको छ ।
नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुईवटा क्रेनको सहायताले रोलरलाई ट्रकमा लोड गरी महानगरको डम्पिङ साइटमा स्थानान्तरण गरेको नगर प्रहरी इन्चार्ज हरि भुषालले जनाए ।
यसैगरी, बसपार्क क्षेत्रमा लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका १/१ वटा पुराना बस र ट्रक पनि आजै हटाइएको छ। क्रेन प्रयोग गरी ती बस र ट्रकहरू पनि डम्पिङ साइटमा पुर्र्याइएको छ। यसअघि गत बुधबार पनि बसपार्कबाट दुई वटा बेवारिसे बसहरू हटाइएको थियो।
प्रमुख राजेशमान सिंहले यस अभियानलाई निरन्तर अगाडि बढाइने स्पष्ट पार्दै पटक–पटक सार्वजनिक सूचना मार्फत यस्ता साधन हटाउन आग्रह गर्दा समेत बेवास्ता गरिएकाले एक्सनमा उत्रिएको बताए ।
महानगरपालिकाले सडक, फुटपाथ, चोक, पार्क, बसपार्क र अन्य सार्वजनिक स्थानहरूमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारी साधन तथा संरचनाहरूले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेको निष्कर्ष निकाल्दै ती हटाउने कार्यलाई प्राथमिकता दिएको हो।

प्रमुख सिंहका अनुसार, वीरगंजलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक शहरमा रूपान्तरण गर्न यस्ता बाधक तत्वहरू हटाउनु आवश्यक भएको छ। उनले भने,’यो शहर हामी सबैको साझा घर हो। नागरिकले नियम पालन गरेमा हामी वीरगन्जलाई व्यवस्थित बनाउन सक्छौं ।’
महानगरले अहिले ‘शून्य सहनशीलता’ को नीति अपनाउँदै सार्वजनिक स्थानहरूमा हुने लापरवाही र अतिक्रमणविरुद्ध कडा र स्पष्ट कदम चाल्ने चेतावनी पनि दिएको छ।
यात्रुहरू, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजनामा महानगर जुटिरहेको छ।

महानगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा समेत यस्ता बेवारिसे तथा अव्यवस्थित संरचना तथा सवारी साधनहरू पहिचान गरी चरणबद्ध रूपमा हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ।
यो अभियानले यहाँको सडक क्षेत्रलाई खुला, सुरक्षित र व्यवस्थित बनाउँदै, शहरको समग्र स्वरूपमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।