बीरगन्ज । रौतहट प्रहरीले पाँच लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले पाँच लाख ३२ हजार १० रुपैँया मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।
प्रहरी नायब उपरिक्षक एलिजा गिरीका अनुसार जिल्लाका विभिन्न स्थानहरुमा प्रहरीले गरेको जाँचका क्रममा ती सामानहरु नियन्त्रणमा लिइएको हो ।
प्रहरीले बरामदी गरेका सामानहरुमा राजश्व चोरीका लत्ताकपडा, खाद्यान्न, कस्मेटिक, सवारी साधन, इलेक्ट्रोनिक सामान तथा पशु चौपाया लगायतका रहेका उनले बताइन् ।
प्रहरीले एक लाख १ हजार ६२० मूल्यका लत्ताकपडा, एक लाख २७ हजार ३९० रुपैँयाका किराना, खाद्यान्न, कस्मेटिक लगायतका सामान तथा ९९ हजार रुपैँयाका पशु चौपायाहरु नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
बरामद सामानमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।