बीरगन्ज । नेपाल राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै असोज १३ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । बडा दशैँमा माग हुने साना दरका नोट सटहीका लागी राष्ट्र बैंकले यो सुविधा दिने भएको हो ।
राष्ट्र बैंकले सूचना जारी गर्दै यही असोज १३ गतेदेखि २२ गतेसम्म नयाँ नोट सटही सुविधाबारे जानकारी गराएको हो ।
राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरुमार्फत नयाँ नोट सटही गर्न सकिने जनाइएको छ ।
राष्ट्र बैंकले प्रदेश कार्यालयहरु विराटनगर, जनकपुर, बीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट समेत नयाँ तथा सुकिला नोट लिन सकिने जनाएको छ ।
साथै इजाजतपत्रप्राप्त बैंक तथा वित्तिय संस्थाका शाखा कार्यालयहरुबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले बताएको छ ।
आफ्नो खाता रहेको बैंक तथा पायक पर्ने नजिकको बैंक र वित्तिय संस्था वा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटही गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।
राष्ट्र बैंकले हरेक वर्ष दशैँ, तिहार लगायतका चाडबाड लक्षित गर्दै नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ ।