महोत्तरी । जनमत पार्टीका महासचिव तथा पूर्व यातायात मन्त्री चन्दन सिंहले बुधबार जलेश्वर नगरपालिका–३ खैरा टोलमा एक सामुदायिक भवनको शिलान्यास गरेका छन् ।
उक्त भवनको निर्माणका लागि मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । पूर्वमन्त्री सिंहको सक्रिय पहलमा उक्त रकम प्रदेश सरकारबाट स्वीकृत भई सामुदायिक विकासका लागि भवन निर्माण प्रक्रिया सुरु गरिएको हो ।
शिलान्यास समारोहमा जलेश्वर नगरपालिका–३ का वडाध्यक्ष रतन चौधरी, समाजसेवी जगन्नाथ साह र जलिल अन्सारीसहित स्थानीयको पनि सहभागिता रहेको थियो । शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री सिंहले विकासका कामहरूमा आफू सधैं अग्रसर रहने प्रतिबद्धता जनाए । उनले स्थानीयस्तरमा आवश्यक पर्ने आधारभूत पूर्वाधारको निर्माणमार्फत जनताको जीवनस्तर उकास्नेतर्फ आफू क्रियाशील रहेको उल्लेख गरे ।
उपसभामुख ईशरद्वारा चार विकास योजनाको शिलान्यास
मधेश प्रदेश सभाकी उपसभामुख बबिता कुमार ईशरले मंगलवार सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा चारवटा विकास योजनाको शिलान्यास गरेकी छिन् ।
उपसभामुख ईशरले रुपनी गाउँपालिका–२ स्थित हरिरावा गाउँमा रहेको ऐतिहासिक तथा धार्मिक स्थल राजाजी डीहवारको मर्मत तथा पूर्ण निर्माण कार्यको शिलान्यास गरेकी हुन् । त्यसैगरी ,रुपनी गाउँपालिका–३ को कटैयामा रहेको बाबा दिनाभद्री पोखरीको घाट निर्माण कार्यको पनि शिलान्यास गरेकी हुन् ।

चारवटै योजनामा कुल ५० लाख रुपैयाँ प्रदेश सरकारबाट विनियोजन गरिएको हो । योजनाहरूको उद्देश्य स्थानीय धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण तथा समुचित विकास गर्ने रहेकी उपसभामुख ईशरले बताइन् । शिलान्यास कार्यक्रममा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।