वीरगन्ज । जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले मिडियामा पार्टीविरुद्ध भइरहेका झूठा प्रचारप्रति स्पष्टीकरण दिएका छन् ।
उनले पार्टीमै केही व्यक्तिले चलखेल गरिरहेको र अनावश्यक झमेला गर्दै पार्टीविरुद्ध झूठा प्रचारको खेति गरिरहेको विज्ञपतिमार्फत जनाएका छन् । उनले विशेष गरी दुई इञ्जिनियर ई. ओम कुमार साह र ई. दिपक कुमार साहको प्रसंग उठाउँदै कथित आर्थिक चलखेल र सरूवा सम्बन्धी तथ्य सार्वजनिक गरेका छन् । साथै, माधव कुमार सिंहसम्बन्धी अनुशासनहीनताको मामलामा पार्टीले प्रक्रिया पुर्याएर कारबाही गरेको दाबी गरिएको छ ।
ई.ओम कुमार साहको सरूवा विवाद
उनी सरकारी कर्मचारी भएकोले सरकार जहाँ खटाउँछ, त्यहीँ जानुपर्ने हो । तर, बारा जिल्लामा सरुवा भएपनि जान नमानेको र सप्तरीमै अर्वैको भौतिक योजना बजेटमा समावेश गर्न हस्तक्षेप गर्न खोजेको आरोप छ ।
भौतिक योजना कार्यालयको नेतृत्वबारे स्पष्टीकरणः
पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख ई.संजिवकुमार साह रहेका छन् । हालसम्म हाकिम परिवर्तन भएको छैन ।
माधव कुमार सिंहप्रति अनुशासन कारबाहीः
पार्टीमा उजुरी परेपछि प्रमाण मागिएको थियो, तर तत्काल प्राप्त नभएको बताइएको छ । प्रमाण प्राप्त भएपछि २०८१ चैत्र ६ मा सिंहलाई पार्टीले स्पष्टीकरण सोधिएको र आवश्यक कारबाही गरिएको छ । कारबाहीपछि पनि केन्द्रीय समितिमा पुनरावेदन दिन पाइने व्यवस्था रहेको स्पष्ट पारिएको छ ।
ई. दिपक कुमार साहको भूमिका र दाबीहरूः
उनले ४८ घण्टाको अल्टिमेटमसहित कारबाही मागे पनि पार्टीको विधानअनुसार प्रक्रिया पुर्याएर मात्र निर्णय हुने कुरा प्रष्ट पारिएको छ । जनमत पार्टी भित्रको आन्तरिक विवादलाई लिएर विभिन्न मिडिया र सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति पार्टीको कारबाहीमा परेपछि केही व्यक्तिहरु बौखलाएको सचिवालय प्रमुख मण्डलले आरोप लगाएका छन् ।