काठमाडौं । भारतले ‘अप्रेशन सिन्दूर’ नामक सैन्य कारबाहीको प्रारम्भ गर्दै पाकिस्तानभित्र रहेका आतंकवादी शिविरहरूमा लक्षित हवाई आक्रमण (एयर स्ट्राइक) गरेको दाबी गरिएको छ।
भारतीय समाचार संस्था आज तकको समाचारअनुसार यो कारबाही पाकिस्तानको विभिन्न ९ स्थानमा गरिएको हो।
यस सैन्य कारबाहीको उद्देश्य पाकिस्तानमा सक्रिय आतंकवादी समूहहरूका आधार शिविरहरू नष्ट गर्नु रहेको बताइएको छ।
स्रोतअनुसार, भारतको वायु सेनाले उच्च प्राविधिक हतियार प्रयोग गरी लक्षित संरचनाहरूमा आक्रमण गरेको हो।
हालसम्म पाकिस्तानको तर्फबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन भने यस विषयमा भारत सरकारको तर्फबाट पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यद्यपि यस घटनाले दुई देशबीचको सम्बन्धमा पुन: तनाव उत्पन्न हुने देखिएको छ।
‘अप्रेशन सिन्दूर’ को विस्तृत कार्ययोजना, आक्रमणको सफलताबारे तथ्य र यसको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रभावबारे प्रष्ट विवरण आउन बाँकी छ।