काठमाडौँ । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिमका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा अहिले मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशका विभिन्न भू-भागमा मौसम थप सक्रिय रहने पूर्वानुमान गरिएको छ। विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत छ।
यससँगै हिमाली क्षेत्रमा समेत हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमको यस अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।