काठमाण्डौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चङ्गा तथा ड्रोन उडाउन प्रतिबन्ध लगाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको हो । ती आसपासका क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न समेत प्राधिकरणले रोक लगाएको छ ।
दशैं नजिकिएसँगै चङ्गा उडाउने गरिएको छ । त्यसले हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने अधिकारीहरुको भनाइ छ । तसर्थ सूचनाको पालना गर्दै हवाई जहाज उड्ने क्षेत्रमा चङ्गा, बेलुन वा ड्रोन नउडाउन भनिएको हो ।
यदि कसैले यो सूचनाको पालना नगरे कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयको चेतावनी छ ।