मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालमा रहेको छ । यसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।