‘पेस्तोल डान्स’ प्रकरणमा जसपाकी केन्द्रीय सदस्य डा. बबी सिंहलाई सप्तरी प्रहरीले आफ्नो निगरानीमा राखेका झण्डै ७ घण्टापछाढि रिहा गरेको छ ।
प्रहरीले ‘पेस्तोल डान्स’ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने जसपाकी केन्द्रीय सदस्य डा. सिंहलाई प्रहरीले सम्पर्कमा रहेन ‘सर्त’मा रिहा भएकी हुन । सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि उनलाई प्रहरीले सोधपुछको लागि बोलाएको थियो । तर बिहीबार साँझ कागज गरेर छाडिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
सप्तरी घर भएकी बबीले सर्लाहीको मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी कार्यक्रममा नाच्दा पेस्तोल फायर गरेको स्वीकारेकी छन् ।
तर उनले फायर गरेको पेस्तोल भने नक्कली भएको उनले दाबी गरेको एसपी खतिवडाको भनाइ छ । उनले गरेको बयान अनुसार प्रहरीले सर्च गर्दा फायर गरेको देखिने पेस्तोल सर्लाहीबाट बरामदसमेत भइसकेको छ ।
मलंगवा नगरपालिका–२ स्थित अञ्जली कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईको प्रतिक्रिया छ ।
पेस्तोल बरामद गरेर त्यसबारे सर्लाही प्रहरीले नै अनुसन्धान थालेको छ । घटनास्थल सर्लाहीमा भएको र दसी समेत त्यहीँबाट बरामद गरिएको हुनाले अनुसन्धान पनि सर्लाहीबाट नै हुने एसपी खतिवडाको भनाइ छ ।
उनले भने, ‘अब थप अनुसन्धान सर्लाहीबाट नै हुन्छ ।’ बिहीबार सामाजिक सञ्जालमा उनले पेस्तोल पड्काउँदै डान्स गरेको भिडियो भाइरल भएसँगै सप्तरी प्रहरीले उनलाई बोलाएर सोधपुछ गरेको थियो ।