
बीरगन्ज । बीरगन्ज भन्सारबाट निर्यातमा गिरावट आएको छ । गत वर्षको तुलनामा चालू आर्थिको सुरुवातीमै भन्सारबाट निर्यात हुने वस्तुमा कमी भएको छ ।
बीरगन्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको दुइ महिनामा झन्डै सवा पाँच अर्ब सिन्थेटिक यार्न निर्यात भएको विवरण छ । चालू आर्थिक वर्षको साउन र भदौंमा भन्सार कार्यालयबाट पाँच अर्ब २६ करोड रुपैँया मूल्य बराबरको सामान निर्यात भएको भन्सारका दीपक लामिछाने बताउँछन् ।
यो दुइ महिनामा भन्सार कार्यालयबाट पाँच अर्ब रुपैँया मूल्य बराबरका सिन्थेटिक यार्न निर्यात भएको तथ्यांक देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को भदौ मसान्तसम्ममा कुल निर्यात पाँच अर्ब २६ करोड ३७ लाख १० हजार रुपैँया बराबरका भएको जनाइएको छ ।
यद्यपी, गत आर्थिक वर्षको सोही अवधिमा भने ५ अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको यो दुइ महिनाको तथ्यांकलाई केलाउने हो भने ३ करोड १ लाख मूल्य बराबरको सामानको निर्यातमा कमी आएको देखिन्छ ।
बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि भदौसम्मको अवधिमा ३३ करोड ३९ लाख सात हजार मूल्य बराबरका १४ लाख ५६ हजार ८०४ किलोग्राम सिन्थेटिक यार्न निर्यात गरेको जानकारी दिएको छ । यो गत वर्षको तुलनामा भएको निर्यातमा वृद्धि हो ।
गत आवको सोही अवधिमा २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको कार्यालय बताउँछ ।
यसरी निर्यात भएका सामानहरुमध्ये सबैभन्दा बढी पिना रहेको कार्यालयले जनाएको छ । भन्सार प्रशासन प्रमुख लामिछानेका अनुसार यो अवधिमा कार्यालयबाट ४९ करोड ५९ लाख २८ हजार मूल्य बराबरका ६९ लाख ५३ हजार किलोग्राम पिना निर्यात भएको तथ्यांक छ ।
यसैगरी चालु आवको यहि अवधिमा १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ । यस्तै ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर ‘उनी गलैँचा’ निर्यात भएको छ ।
गत आवको तुलनामा चालु आवको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २० दशमलव ४३ प्रतिशतले गिरावट आएको भन्सारका प्रशासन प्रमुख प्रशासक लामिछाने बताउँछन् । यस्तै यहि समयमा एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार आठ सय लिटर जुस तथा जाम, ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात गरिएको भन्सार कार्यालयको तथ्यांक छ ।
किन गिरावट ?
बीरगन्ज भन्सार कार्यालयले मुलुकमा उत्पादनमा कमी आएकोले निर्यातमा गिरावट आएको जनाएको छ । बीरगन्ज भन्सार कार्यालय प्रमुख लामिछानेका अनुसार पछिल्लो समय मुलुकमा उत्पादनमा ह्रास आएकोले लक्ष्य अनुसार निर्यात हुन नसकेको बताए ।
उनले भने, ‘हाम्रो देशबाट जाने सामानहरुको माग अन्य देशमा घट्दै गएको छ, त्यसकारणले पनि होला दुइ महिनामा निर्यातमा कमी आएको । तरपनि अहिले अवस्था सुधारोन्मुख रहेको छ ।’