सिरहा । सिरहामा आफ्नो ‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा खुकुरी प्रहारको घटना सार्वजनिक भएको छ ।
दुइ दिन अगाडि आफ्नो नयाँ मोटरसाइकल छोएको विषयमा भएको झगडामा खुकुरी प्रहारसम्मको घटना भएको प्रहरीले जनाएको छ । यही १७ गते सिरहाको लहान नगरपालिका वडा नम्बर– ३ दंग्राहा टोलमा ‘अनटेस्ट’ मोटरसाइकल छोएको विषयमा विवाद हुँदा खुकुरी प्रहारको भएको सिरहा प्रहरीले पुष्टि गरेको छ ।
सोही ठाउँ बस्ने २७ वर्षीय देवकुमार महतोले आफ्नो नयाँ मोटरसाइकल छोएको भन्दै उनीमाथि खुकुरी प्रहार गरिएको सिरहा प्रहरी प्रवक्ता बिरेन्द्र पासवानले बताए । उनका अनुसार बुधबार साँझको उक्त घटना हो, त्यही दिन देवकुमार महतोले मोटरसाइकल छोएका थिए ।
डिएसपी पासवान भन्छन्, ‘किन आफ्नो मोटरसाइकल छोएको भन्दै मोटरसाइकल धनी मनिष महतोसहितका घरपरिवारले सुरुमा वादविवाद गरे, त्यो उग्ररुप लिन थालेपछि मनिषका श्रीमती, भाइ र आमासहितकाले देवलाई लछारपछार गर्दै निर्घात कुटपिट गर्न थाले । यही बेला मोटरसाइकल धनी मनिषका भाइ मुकेश महतोले खुकुरी प्रहार गरे, जसबाट देव घाइते भएका हुन ।’
प्रहरीका अनुसार देवकुमार घाइते भइ हाल प्रादेशिक अस्पताल सिरहामा उपचाररत छन्। उनको टाउको, घाँटी र ढाडमा चोट लागेका सिरहा प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले मनिषसहित उनका बुवा दिवस महतो र आमा सिता देबीलाई पक्राउ गरिसकेको जनाएको छ । खुकुरी प्रहार गर्ने मुकेश भने अहिलेसम्म फरार रहेको सिरहा प्रहरीले जनायो ।