वीरगन्ज । भारतको ओडिसास्थित केआईआईटीमा मृत फेला परेकी प्रीसा साहको मृत्युबारे अनुसन्धान सुरु भएको छ ।
बिहीबार साँझ विश्वविद्यालयस्थित होस्टलको आफ्नै कोठामा मृत भेटिएकी साहको मृत्युबारे सूक्ष्म अनुसन्धान सुरु गरिएको भुवनेश्वर प्रहरीले जनाएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेका छन् । भुवनेश्वर प्रहरीसँगको कुराकानीलाई उद्धृत गर्दै उनले बिहीबार बेलुकी करिब ८ बजे कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जानकारी गराए ।
कन्सुलर एसएसपी शर्माका अनुसार, घटनाबारे आवश्यक अनुसन्धान सुरु भइसकेको छ । यद्यपि मृतक साहको घरबाट परिवार नआउन्जेलका लागि पोस्टमार्टम नगर्नेगरी शव सुरक्षित राखिएको उनले बताए । यता घटनाबारे जानकारी पाएलगत्तै प्रीसाको परिवार कलेजतर्फ प्रस्थान गरिसकेका छन् ।
बिहीबार साँझ एक नेपाली विद्यार्थी कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको त्यहाँ अध्ययरत् नेपाली विद्यार्थीहरुले बताएका छन् । यसबारे कलेजले आधिकारिक सूचना भने टाँस गरेको छैन ।
यसअघि गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।
त्यतिबेला विद्यार्थीहरू आन्दोलित हुँदा कलेज प्रशासनले होस्टेल छाडेर जानसमेत चेतावनी दिएको थियो । उक्त घटना सम्झँदै प्रहरीले दूतावाससँग त्यो बेलाको जस्तो कमजोरी अहिले नगर्ने प्रतिबद्धता जनाएको कन्सुलर एसएसपी शर्माले बताए ।
प्रीसा वीरगन्जबासी हुन् । सर्लाहीको मलंगवाका स्थायी बासिन्दा प्रीसा साह हाल वीरगन्ज –१५ मा बसोबास गर्दै आएकी थिइन्।
उनी एक वर्ष अघि मात्र उच्च शिक्षाको लागि भारत गएकी थिइन्। तर, बिहीबार राति अप्रत्याशित खबरले परिवारमा शोकमा डुबेको छ ।