ट्रेन्डिङ

“१८ तारिख घर फर्किन्छु” भनेर फोन गरेकी प्रीसा अब कहिल्यै फर्किन्नन्…

वीरगन्ज । “यही १८ तारिख घर आउँछु, टिकेट बनाइदेऊ” – यिनै शब्दहरू प्रीसा साहले बिहीबार दिउँसो ३ बजे आफ्नो परिवारसँग गरेकी अन्तिम संवाद रहेछ।

तर, त्यो संवाद नै अन्तिम बन्न पुग्यो। अब प्रीसा कहिल्यै घर फर्किने छैनन्।

सर्लाहीको मलंगवाका स्थायी बासिन्दा प्रीसा साह हाल वीरगन्ज –१५ मा बसोबास गर्दै आएकी थिइन्।

उनी एक वर्ष अघि उच्च शिक्षाको लागि भारत गएकी थिइन्।

तर, बिहीबार राति अप्रत्याशित खबरले परिवारमा शोकको वातावरण बनाएको छ।

कलेजबाट राति ९ बजे आएको फोनले पुरा संसार भत्कियो

प्रीसाका भाइ गौरव साह का अनुसार बिहीबार राति ९ बजे कलेजबाट फोन आएको थियो।

फोनमा बहिनीको मृत्युको खबर दिइएको थियो।
“हामीलाई थाहा पनि थिएन, बहिनी अब हाम्रो बीचमा रहिनन् भनेर यस्तो खबर आउँछ,” उनले भने।

एक वर्ष अघि मात्रै गएकी थिइन् अध्ययनका लागि

प्रीसा साह उच्च शिक्षा अध्ययनको लागि एक वर्षअघि भारत गएकी थिइन्।

परिवार उनीप्रति निकै आशावादी थियो – उनी केही बनिएर फर्किन्छिन् भन्ने ठूलो भरोसा थियो।

तर, उनको जीवन यति छिट्टै र रहस्यमय रूपमा अन्त्य हुन्छ भन्ने परिवारले कहिल्यै कल्पना गरेका थिएनन्।

हाल उनका आफन्तहरू कलेजतर्फ प्रस्थान गरिरहेका छन् घटनाको यथार्थ बुझ्न र आवश्यक प्रक्रिया अगाडि बढाउन।

परिवार शोकमा

परिवार र आफन्तजनहरू शोकमा डुबेका छन्। यस दुखद घटनाबारे यथार्थ खुलाउन तथा आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरिरहेका छन ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा पून अर्की नेपाली विद्यार्थी मृत फेला परेकी हुन ।

सो विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत भिस्वा निवासी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन् ।

उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।

गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।

साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ।

प्रेम सम्बन्धका कारण उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपी घटनाको यथार्थ खुलिनसकेको त्यही अध्ययनरत एक नेपाली विद्यार्थीले बताए ।

साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ। यसबारे आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै