वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मधेस प्रदेशको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् ।
नेकपा एमाले वीरगन्ज महानगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई आज क्लासिक होटलमा सम्बोधन गर्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन् ।
नेकपा एमालेका मधेस इन्चार्ज लीलानाथ श्रेष्ठले प्रदेशको विकासका लागि तयार पारेको खाकाको आधारमा योजना अनुसार अघि बढेको उनको भनाइ छ ।
यहाँका नागरिकको हक अधिकारका लागि पनि सरकार दृढतापूर्वक भूमिका निर्वाह गरिरहेको उनले जनाए । प्रदेशका जनताले संघीयताको माध्यमबाट देखेका सपना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूरा गर्ने उनले बताए । उनले भने, ‘दुई कार्यकाल सत्तासीन भएको मधेशी दलले समग्र मधेसको विकासमा ध्यान दिएन । जसको कारण मधेस प्रदेशको विकासको सपना तुहिएको हो।’
तराईको भौतिक विकास मात्र नभई सामाजिक विकासका लागि पनि आफू क्रियाशील रहेको मन्त्री गुप्ताको भनाइ छ ।