वीरगन्ज । पछिल्लो तीन महिनामा जिल्ला प्रहरी कार्यलय पर्साले सम्पादन गरेका कार्यहरुको विस्तृत तथ्यांकसहितको प्रगति प्रतिवेदन सार्वजनिक भएको छ ।
यस अवधिमा अपराध नियन्त्रण, फैसला कार्यान्वयन, राजस्व संकलन र सामुदायिक सुरक्षाका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको प्रतिवेदनले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी प्रमुखको रुपमा आएको तीन महिनाको अवधिमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जिल्लाको शान्ति सुरक्षा, अपराध तथा लागुऔषध नियन्त्रण, सामाजिक एकता एवम् सामुदायिक सुरक्षामा खेलेको भूमिका प्रति पर्साबासीले सन्तोष व्यक्त गरेका छन् ।
एसपी गौतमले पर्साको कमाण्ड सम्हालेको तीन महिनाको अवधिमा फरार प्रतिवादी, लागुऔषध, विभिन्न मुद्दा, हुण्डी कारोवारी, मानव बेचविखन, कालोबजारी, तस्करीलगायकको अपराध र कसूरमा संलग्न रहेका करिब ७ सय ८५ जनालाई पक्राउ गरेका छन् ।
साथै पर्सा प्रहरीको सक्रियताले नेपाल–भारत खुल्ला सीमानाकाको फाइदा उठाई पर्साको विभिन्न नाकाबाट चोरी तस्करी गरी नेपाल भित्रियाइएका सामान नियन्त्रण गरी त्यसबाट करिब १३ करोड राजश्व संकलन गर्न सहयोग पुगेको छ ।
भन्सार चोरी तस्करी नियन्त्रणतर्फ, यस अवधिमा १२ करोड २३ लाख ५० हजार २ सय ४५ रुपैयाँ राजश्व संकलन भएको छ । अवैध कारोबारमा प्रयोग भएका २४ वटा सवारी साधन समेत नियन्त्रणमा लिइएको छ ।
पर्सा प्रहरीले फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति गरेको छ । प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै कुल ५१२ प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरुबाट ३८ वर्ष १ महिना ७ दिनको कैद सजाय असुल गरिएको छ । साथै, जरिवाना बापत १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ असुल गरिएको छ ।
लागु औषधसहित विभिन्न अपराध नियन्त्रणमा समेत पर्सा प्रहरी सक्रिय देखिएको छ । तीन महिनाको अवधिमा २३ वटा लागु औषध सम्बन्धी मुद्दा दर्ता भई ३१ जना प्रतिवादी पक्राउ परेका छन् । यस क्रममा गाँजा ५१६ केजी ७५० ग्राम, चरेस ३१ केजी ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम ७२ ग्राम लगायत डाइजेपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, व्युनोर्फिन २ एम्पुल, नाइट्राभेट २४ ट्याब्लेट, कोडिवेल ५० बोतल र नाइट्राजेपाम ८८६ ट्याब्लेट जस्ता नियन्त्रित औषधिहरु बरामद भएका तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी हुण्डी कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ समेत बरामद भएको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख छ । अन्य अपराधतर्फ, मानव बेचबिखन सम्बन्धी ५ वटा मुद्दामा ५ जना पक्राउ परेका छन् । मानव बेचविखनमा संलग्न मध्येका ५ जनालाई पुर्पक्षको लागि वीरगन्ज कारागार चलान गरिएको छ ।
यसैगरी अवैध ढुङ्गा बालुवा उत्खननमा संलग्न २३ वटा ट्रयाक्टर नियन्त्रणमा लिई जिल्ला समन्वय समितिमा बुझाइएको छ । यसैगरी वन जंगल फडानी गरी काठ तस्किरीमा संलग्नलाई वन डिभिजन कार्यालयको समन्वयमा पक्राउ गरिएको छ । उनीहरुको साथबाट बरामद भएको २१४ क्युफिट काठसहित नियन्त्रणमा लिइएका बस, चालक, ट्रयाक्टर, साइकलसमेत वन डिभिजन कार्यालयमा बुझाइएको छ ।
लागू औषधसहित विभिन्न मदिराजन्य नियन्त्रण विरुद्धको अभियानमा पनि प्रहरीले थप सक्रियता देखाएको छ । तीन महिनाको अवधिमा पर्सा प्रहरीले ४० कठ्ठामा लगाइएको गाँजा फडानी गरी करिब ३४ हजार ४ सय बोट नष्ट गरेको छ । यसैगरी अफिमको ५०० बोट नष्ट गरेको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी ३८ वटा भठ्ठी नष्ट गरी त्यहाँ रहेको २५४० लिटर तयारी मदिरा र कच्चा पदार्थ १५ हजार ४९० लिटर नष्ट गरेको छ ।
पर्सा प्रहरीले बाख्राको मासुमा खसीको अण्डकोष टासी मासु विक्री वितरण गरेका दुई जनालाई कालोबजारी अन्तर्गतको कसुरमा पक्राउ गरि कारवाही गरेको छ ।
यता, मुद्दा दर्ता, फछ्यौट र बाँकीको स्थिति कार्यालय तथा मातहत समेत गरी हालसम्म कुल ४०२ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये २०३ वटा मुद्दा फछ्यौट (टुंगो लागेको) भइसकेका छन् भने १९९ वटा मुद्दा बाँकी छन् । दर्ता भएका मुद्दामध्ये हालसम्म २३५ जना प्रतिवादी पक्राउ परेका छन् र ३०४ जना प्रतिवादी अझै फरार रहेका छन् ।
पर्सा प्रहरीको प्रमुखको रुपमा एसपी गौतम मिश्र आएदेखि हालसम्म १०४ वटा ‘पेन्डिङ’ मुद्दा फछ्यौट गरिएको छ । त्यसैगरी ठाडो उजुरी तर्फ प्राप्त कुल ९४१ वटा उजुरीमध्ये ६७५को काम सम्पन्न भई २६६ काम बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।
ज्यान सम्बन्धी कसूरको घटना र अनुसन्धानमा यस अवधिमा ज्यान सम्बन्धी एक दुःखद घटना पनि प्रतिवेदनमा समेटिएको छ । २०८१ फागुन ७ गते काम गर्न जान्छु भनेर घरबाट निस्किएका वीरगन्ज वडा नम्बर २७ उदयपुर घुर्मीका १९ वर्षीय इशाल प्रसाद कुर्मीको शव फागुन ११ गते भेडैया खोलामा फेला परेको थियो ।
मृतकका बुवा जोगेन्द्र प्रसाद कुर्मीले प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा खोजतलास गरेको प्रहरीले उनको शव खोलामा तैरिरहेको अवस्थामा प्राप्त गरेको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा फागुन ७ गते करिब साढे ११ बजे छिमेकी साथीहरुसँग तास खेल्ने क्रममा पैसाको विवाद भएपछि स्थानीय मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी समेतको मिलेमतोमा इशालको हत्या गरी खोलामा फालेको घटना खुलेको थियो । उनीहरुलाई पक्राउ गरी ज्यान सम्बन्धि कसूरमा मुद्दा चलाई पुर्पक्षको लागि कारागार पठाइएको छ ।
पर्सा प्रहरीको अन्य पहलकदमी र सामुदायिक कार्यक्रम अन्तर्गत प्रहरीले यस अवधिमा प्रहरी कार्यालयमा विद्यार्थी, प्रहरी कर्मचारी, थुनुवाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर तथा मोटिभेसनल क्लास जस्ता कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयमा जनमैत्री वातावरण कायम गर्न पहल भइरहेको छ र सामुदायिक प्रहरीको माध्यमबाट सामाजिक सद्भाव कायम गराउने प्रयास जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।
चोरी, मानव बेचबिखन, लागु औषध, साइबर अपराध र आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतनात्मक १४५० कार्यक्रम सञ्चालन गरी सोबाट ७४ हजार ९ सय ५३ जना लाभान्वित भएको पनि जनाइएको छ । यी तथ्यांकहरुले पछिल्लो तीन महिनाको अवधिमा पर्सा प्रहरी कार्यालयबाट कानून कार्यान्वयन र सार्वजनिक सुरक्षा कायम गर्न भएका प्रयासहरुलाई प्रतिबिम्बित गर्दछन् ।
यस तीन महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय पर्सामा सर्वसाधारणको पँहुच सहज भएको सेवाग्राही विनोद रौनियारको भनाई छ । पर्सामा एसपी मिश्रको आगमनसँगै उनको कार्यकक्षमा समेत पुगेर सर्वसाधारणले सहज तरिकाले आफ्नो समस्या बताउने गरेको रौनियारको भनाई छ । एसपी मिश्रले आफ्नो मतहतका सम्पूर्ण प्रहरी तथा कर्मचारीलाई जनताको समस्यालाई दातारुकताका साथ समाधान गर्न भनिरहने गरेको प्रहरी स्रोत बताउँछ ।
स्रोत भन्छन्,‘एसपी सर कुनै विशेष काम नपरेको बेला १० देखि ५ बजेसम्म कार्यालय मैं रहनुहुन्छ । यसले सर्वसाधारणलाई पनि उहाँसँग आफ्नो समस्या बताउन सहयोग पुग्छ । प्रहरी कार्यालयमा सबै साथीहरु तादारुकताका साथ काम गर्नु हुन्छ, यहाँ एउटा सिस्टममा चल्छ, तर कार्यालयमा एसपी सरलाई भेटेपछि सर्वसाधारण पनि खुसी हुन्छन् । यसले राम्रो नजिता दिने विश्वास छ ।’