वीरगन्ज । जनता समाजवादी पार्टी नेपालकी नेतृ डा.बबी सिंहको सामाजिक सञ्जालमा भाइरल पेस्तोल सर्लाहीबाट बरामद गरेको छ ।
सामाजिक सञ्जालमा डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको सर्लाही प्रहरी कार्यालयले जनाएको छ । सर्लाही प्रहरी प्रवक्ता सरोज राईका अनुसार सामाजिक सञ्जालमा भाइरल पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट बरामद भएको छ ।
उनी भन्छन्, ‘सप्तरी प्रहरीले आज विहान डा. सिंहसंग बयान लिएको थियो, सोक्रममा उनले सर्लाहीमा एक हल्दी कार्यक्रममा आफूले नक्कली बन्दुकको प्रयोग गरेको बयान दिएकी थिइन् । उक्त बयानको आधारमा सर्च गर्दा सामाजिक सञ्जालमा भाइरल पेस्तोल फेला परेको हो ।’
उनका अनुसार फेला परेको पेस्तोल नक्कली रहेको आशंका भएपनि त्यसलाई परीक्षणको लागि केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने तयारी गरिएको छ । प्रहरीको प्रारम्भि अनुसन्धानमा मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दि कार्यक्रममा थियो, त्यही कार्यक्रममा उनले नाच्दा पेस्तोल फायर गरेको खुलेको छ ।
सो पेस्तोल नक्कली रहेको आशंका गरिएको छ । पेस्तोल फायर गर्न प्रयोग गरिने बारुद पनि बरामद गरिएको डीएसपी राईले जानकारी दिए । सर्लाहीको भाडसरमा भएको घटनालाई डा.सिंहले भारतमा सितामढीमा भएको भनेर जिकिर गरेकी छन् । कोमल सुप्रियाको विवाह वैशाख मा सितामढीमा भएको थियो ।