बीरगन्ज । विदेशबाट घर आएको एक महिनामौ सर्लाहीमा एकजना व्यक्तिले गोली हानेर आफ्नो श्रीमती हत्या गरेको छ । हरिपुर्वा नगरपालिका ५ मा बिहीबार विहान पौने २ बजे श्रीमानले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेको हो ।
सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने बुवा मध्यम घाइते भएका छन् । छोराले गोली चलाउदा ५४ वर्षीय बुवा रामदिनेश राय घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका अनुसार उनको बाँया हातमा गोली लागेको छ । घाइते बुवाको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनायो । आफ्नै बुवा र श्रीमतीलाई गोल्ली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए ।
उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन । घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
कसरी हत्या ?
श्रीमान् कामको सिलसिलामा विदेशमा करिब एक वर्षदेखि बसिरहेका थिए । एक महिना अगाडि मात्रै उनी कुबेतबाट फर्केका थिए ।
घरमा फर्केपछि केही समय मात्रै उनी घरमा बसे । कारण–घरमा विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएको थियो, जुन कारणले धेरै समय उनी घरमा बस्न सकेनन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा त्यसपछि सबलाई मार्छु भन्दै उनी घरबाट निस्केको पाइएको छ ।
प्रहरी भन्छ– त्यो भनेको करिब एक महिनापछाडि राती उनी आफनो घर आए, अचानक घरमा आएर विवाद नै सुरु गरे । प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा गोली हान्ने व्यक्ति विदेशबाट फर्केपछि पारिवारिक सम्बन्ध ठीक नभएको देखिएको छ ।
प्रहरी प्रवक्ता श्रैष्ठ भन्छन्, ‘ऊ राती साढे १२ बजे घर आयो, अन्य २ जना व्यक्ति पनि उसंगै मोटरसाइकलमा आएका थिए । त्यसपछि श्रीमतीलाई हिर्काउन थाल्यो, अचानक श्रीमतीलाई कुटपिट गर्न थालेपछि भाउजूले देखिन । अनि उनी गएर ससुराबुवालाई खबर गरिन, लगत्तै बुवा पनि आए । तर त्यहाँ आपसी सम्बन्ध ठीक नरहेकोले आक्रोसित श्रीमानले सुरुमा श्रीमतीमाथि गोली हान्यो, त्यसपछि बुवालाई पनि गोली चलाएर घाइते बनायो ।’
घटनास्थल हरिपुर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटरको दुरीमा छ । गोली हान्ने व्यक्तिको खोजीका लागि व्यापक संख्यामा प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ ।