बारा । कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोद साहले मुख्यमन्त्रीले जन्तीमा आएको मेसोमा अनुगमन गरेको टिप्पणी गरेका छन् ।
गत हप्ता मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयका टोलीसहित कलैया आएका मुख्यमन्त्री सतिशकुमार सिंहले निजी अस्पतालको अनुगमन गरी मापदण्डविपरित काम गरेका एक दर्जन बढी अस्पताललाई बन्द गर्न निर्देशन दिएका थिए । आफूलाई जानकारी नै नदिई मुख्यमन्त्री सिंहले अनुगमन गरेको भन्दै मेयर साहले बन्द गराइएका अस्पताललाई सञ्चालन गर्न निर्देशन दिएका थिए ।
बुधबार जिल्ला प्रशासन कार्यालय बारामा निजी अस्पताल सञ्चालक, स्थानीय सरकार र प्रशासनबीच भएको छलफलमा बोल्दै मेयर साहले मुख्यमन्त्री सिंहले कलैया अस्पतालमा अनुगमन गर्नु अगाडी नै अस्पताल प्रशासनलाई जानकारी गराएको दाबी गरे । ‘मुख्यमन्त्री ज्यूले अनुगमन अगाडी नै कलैया अस्पताललाई जानकारी गराएका छन् । पहिला कलैया प्रादेशिक अस्पतालमा ड्रेस नलगाउनेहरु कसरी शनिबारको दिन सबै ड्रेसमा देखिए ।’ शंका व्यक्त गर्दै मेयर साहले भने, ‘मापदण्ड बिपरित सञ्चालन गरिने कुनै पनि अस्पताललाई म आफै छाड्दिन ।’
आफू सबै चिकित्सकको साथमा रहेको बताउँदै अस्पताल सञ्चालकलाई मापदण्ड बाहिर नजान उनले आग्रह गरे । गल्ती भए ३ महिनाको सुधारको समय दिइएकोले हाकाहाकी अस्पताल बन्द गर्दा जनताले पाउने दुःख देखेपछि आफुले अस्पतालको पछमा उभिएको तर्क गरे । प्रक्रिया नपुर्याइ मेयर, सिडिओ र अस्पताल सञ्चालकबीच जुधाउने मनसायले गरिएको अनुगमन प्रति मेयर साहले असन्तुष्टि व्यक्त गरे ।
छलफलमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जनताले सेवा सहज पाउने गरि वातावरण बनाउने कार्यमा लाग्नुपर्नेमा जोड दिए । उनले पालिकाले तत्काल खोल्न लगाए पनि मापदण्ड भित्र बस्नै पर्ने बताए । प्रजिअ अधिकारीले मुख्यमन्त्रीले गरेको अनुगमनको प्रशंसा गर्दै अनुगमन जनताको लागि भएको अर्थमा बुझ्न आग्रह गरे । नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज गुप्ताले मुख्यमन्त्रीको काम ठिक भएपनि प्रक्रिया नपुगेको बताए । कलैया प्रादेशिक अस्पतालको सुधार नगरी चोखो बन्न खोज्ने मुख्यमन्त्रीको प्रवृति गलत भएको उनले बताए ।
स्वास्थ्य छेक्षमा पनि सबैभन्दा पछाडी परेको प्रदेशमा सबल प्रदेशको योजना कपिपेस्ट गर्दाको नकारात्मक असर परिरहेको शाखाका महासचिव डा.नौषाद हकले बताए । करोडौं खर्च गरेर पनि राज्यले सहि स्थानमा रोजगारी दिन नसक्ने अनि निजि छेत्रलाई समेत डरमा राख्ने कुरा गलत भएको उनले बताए ।
छलफलमा केही डाक्टरहरुले घाउ चेक जाँच फारम भर्दा पनि पैसा खाएर हुँदै नभएको फारम भर्ने गरिएको प्रहरी उपरीक्षक संतोष तामाङले बताए । यसतर्फ सबै डाक्टरको ध्यानाकर्षण गराउँदै एसपी तामाङले सामान्य चोट लागेकोलाई आईसियुमा लगेर हुँदै नभएको बिल बनाएर लाखौ रुपैयाँ खर्च भएको बिल बनाउने गरिएको प्रति सचेत गराए ।
छलफलमा सहायक सिडिओ छबिरमण भट्टराई, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, जिल्ला स्वास्थ कार्यालय बाराका प्रमुख रामनरेश यादव, कलैया उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख अजय गुप्तासहित निजी अस्पताल सञ्चालक एवम् चिकित्सकहरुको उपस्थिति रहेको थियो ।