काठमाडौँ । पछिल्लो केही दिनदेखि देशभर मौसममा उल्लेखनीय परिवर्तन देखिँदै आएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय रहेको छ, जसका कारण विभिन्न भागहरूमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना बढेको छ।
कोशी प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने अन्य स्थानहरूमा आंशिक बदलीसहित मौसम प्रायः सफा रहेको छ।
कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।
ती क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगहरूमा हल्का हिमपात पनि हुन सक्छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने हावाहुरीको चेतावनी दिइएको छ।
आज राति पनि मौसम यथावत् रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही भागहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ।
साथै, हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना पनि कायमै रहेको छ।
महाशाखाले सम्भावित वर्षा, हिमपात र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने जनाउँदै आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।