सप्तरी । सप्तरी कारागारबाट चोरी मुद्दाका एकजना कैदी फरार भएका छन् ।
सोमबार विहान सप्तरी कारागारबाटै एकजना कैदी हाम फालेर फरार भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार कारागारबाट रामानन्द मण्डल फरार भएका हुन । हिजो राती १० बजेसम्म कारागारमै रहेका मण्डल भने विहानबाट बेपत्ता भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।
‘हिजो राती १० बसेसम्म मण्डल कारागारमै थिए, तर जब चट्याङगसहित बेस्सरी पानी पर्न थाल्यो, त्यही मौका छोपी उनी फरार भएका हुन,’ प्रहरी प्रमुख खतिवडा भन्छन् ।
तर कहाँबाट कसरी भागे त्यो अझै खुल्न नसकेको उनी बताउँछन् । यद्यपी, ‘वाल’बाट हाम फालेर मण्डल फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी खतिवडाको भनाइ छ ।
मण्डल काठमाडौंबाट चोरी मुद्दामा पुपक्र्ष भइ सप्तरी कारागार चलान भएका थिए । उनी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर– ११ निवासी रहेको खुलेको छ ।
मण्डल गएको पुस महिनामा सप्तरी कारागारमा आएको सप्तरी प्रहरीले जनाएको छ । फरार कैदी मण्डलको खोजीमा ब्यापक प्रहरी खटाइएको सप्तरी प्रहरीको दाबी छ ।