वीरगन्ज । अवैज्ञानिक रुपले विद्यालय स्थापना हुँदा राज्यलाई आर्थिक भारसँगै शैक्षिक गुणस्तरीयतामा कमि आएको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष दिनेश कुमार चौधरीले बताएका छन् ।
‘शिक्षा नीतिमा स्पष्टता कार्यान्वयनमा सरोकारवालाहरुको जवाफदेहीता’ भन्ने नारा सहित पर्साको वीरगन्जमा शिक्षा नीति सम्बन्धि सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कारखाना समुहको आयोजनामा भएको कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाको बारेमा सम्बाद सम्पन्न भएको हो । कार्यक्रममा शिक्षा प्रणालीमा पारदर्शिता, जवाफदेहिता र सहभागितालाई सुदृढ गर्ने उद्देश्य राखिएको थियो ।
अध्यक्ष चौधरीले हिजोका दिनमा अवैज्ञानिक तरिकाले जसलाई जहाँ मन लाग्यो झोलामा विद्यालय दर्ता गराउँदा शिक्षाको अवस्था नै सुधार्न सकियो न गुणस्तरीयता नै दिन सकेको तर राज्यलाई आर्थिक भार थुपारिएको बताए । च्याउ सरह झोले विद्यालय भए र हाल आफुहरुले विद्यालयलाई मर्ज गरेर उत्तम बनाउन खोज्दा राजनीतिक दबाबले सम्भव हुन नसकेको उनले जिकिर गरे ।
आफुहरुले स्थानीय बजेटमै शिक्षामा मात्र ११ प्रतिशत बजेट छुट्याएको बताए । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका मधेश प्रदेश अन्तर्गत पर्ने एक महत्वपूर्ण गाउँपालिका भएको कृषि उत्पादन, सीमावर्ती व्यापार र स्थानीय विविधताले चर्चित रहेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
ग्लोबल पार्टनरशिप फर एडुकेशन (जीपीइ) को आर्थिक सहयोगमा र कारखाना समूहको संयोजनमा आयोजनामा गरिएको कार्यक्रमले शिक्षा सुधारमा नागरिक समाजको भूमिका, सार्वजनिक खर्चको निगरानी र सामुदायिक सहभागिता जस्ता महत्त्वपूर्ण विषयमा संवाद गर्ने अवसर प्रदान गरेकोमा अध्यक्ष चौधरीले आयोजकलाई धन्यवाद समेत दिए ।
गाउँपालिका उपाध्यक्ष ममता कुमारी चौधरीले पालिकाको शिक्षामा बृहत बिकासका लागि उच्च शिक्षामा महिला छात्रवृत्ति, स्वयंसेवक शिक्षक नियुक्ति गरेको बताईन । उनले आमाहरु आर्थिक रुपमा सशक्त भए मात्र सन्तानले राम्रो शिक्षा लिन सक्ने बताइन् । देशमै सेनेटरी प्याड बनाउने पहिलो पालिका आफुहरुको भएको दाबी गर्दै एक टोल एक उद्यम कार्यक्रम ल्याएर शिक्षामा जोड दिएको उनको भनाई छ ।
उनले अभिभावकहरु बर्षमा एक दिन पनि विद्यालयमा अनुगमन गर्न आए शिक्षामा आमूल परिवर्तन देखिन सक्ने दाबी गरिन् । उनले गाउँपालिका भित्र विद्यालयमा परिक्षा लिँदा सेन्टर परिवर्तन गरेर परिक्षा लिने व्यवस्था मिलाईएको बताईन ।
प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले नव प्रवद्र्धनमा आधारित आर्थिक बिकासका लागि समेत शिक्षाको महत्वपूर्ण योगदान हुने गरेकोले शिक्षाको बिकासमा महत्वपूर्ण जोड दिँदै आएको बताए । उनले आफुले योजना कार्यान्वयनमा जोड दिँदै आधुनिक शिक्षाका लागि हरप्रयास गरेको बताए । आधुनिक शिक्षाका लागि शिक्षण तालिममा समेत जोड दिँदै आएको बताए ।
पटेर्वा सुगौली गाउँपालिकाको जनसंख्या करिब २५ हजार रहेको जसमा महिलाहरूको संख्या थोरै बढी छ । यहाँको जनघनत्व तुलनात्मक रूपमा मध्यम छ तर विकासक्रम तीव्र गतिमा अघि बढिरहेको तथ्यांकले देखाएको कारखाना समुहका प्रादेशिक अधिकृत एवं मध्यस्थतकर्ता निरज कुमार मिश्रले जनाए । पटेर्वा सुगौलीमा करिब ५० भन्दा बढी सामुदायिक र निजी विद्यालयहरू रहेका छन् ।
स्थानीय तथ्यांक अनुसारः गाउँपालिकाको औसत साक्षरता दर ६० प्रतिशत, महिलाहरूको साक्षरता दर करिब ५२ प्रतिशत र पुरुषहरूको साक्षरता दर करिब ६८ प्रतिशत रहेको छ । पालिकामा विद्यालय जान नसक्ने वा विद्यालयबाट छुटेका बालबालिकाको तथ्यांक उल्लेख्य छ ।
विशेष गरी दलित, मुस्लिम र विपन्न परिवारहरूमा विद्यालय व्यवस्थापन समिति, अभिभावक र पालिकाको समन्वयबाट केही विद्यालयहरूमा सिकाइ वातावरणमा सुधार देखिए पनि शिक्षक अभाव, गुणस्तरीय तालिमको कमी, शैक्षिक सामग्रीको अभाव र बजेट कार्यान्वयनमा चुनौतीहरू अझै विद्यमान रहेको र त्यसको समाधानमा अग्रगामी रुपमा बढेको मिश्रले बताए ।
कारखाना समुहका प्रादेशिक अधिकृत मिश्राले कार्यक्रमको मुख्य उदेश्य भनेको शिक्षा नीति, बजेट र कार्यान्वयनको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न स्थानीय जनप्रतिनिधि, शिक्षा अधिकारी, विद्यालय व्यवस्थापन समिति र नागरिक समाजबीच संवादको माध्यमबाट साझा समझदारी निर्माण गर्ने बताए ।
गुणस्तरीय र समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न शिक्षक व्यवस्थापन, विपन्न समुदायका लागि लक्षित कार्यक्रम, र महिला तथा सीमान्तकृत समूहका पक्षमा स्थानीय तहका प्रयासहरूबारे समीक्षा र छलफल गर्ने,शिक्षा क्षेत्रमा नागरिक समाजको भूमिका सशक्त पार्न सामाजिक उत्तरदायित्व, निगरानी संयन्त्र र वकालत रणनीतिबारे व्यवहारिक अभ्यासहरू आदानप्रदान गर्ने, एसडीजी ४ सँग मेल खाने गरी सार्वजनिक शिक्षा सुधारमा नागरिक समाजको भूमिका सुदृढ गर्न, सामाजिक उत्तरदायित्व, निगरानी संयन्त्र र सार्वजनिक खर्च अनुगमनका व्यवहारिक रणनीतिहरू आदानप्रदान गर्ने समेत रहेको जनाए ।
कार्यक्रमको शिक्षा नीति सम्वाद कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य साजिर मन्सूरले गरेका थिए । गत वैशाख १२ गते शुक्रबार रौतहटको चपुरमा समेत यो कार्यक्रम सम्पन्न भएको थियो ।