वीरगन्ज । वीरगन्जमा कर तिर्ने अभियान सुरु भएको छ ।
महानगरपालिकाले आजदेखि व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले “समयमै कर तिरौं, जिम्मेवार नागरिक बनौं” भन्ने अभियान सुरु गरेको हो ।
महानगर प्रमुख राजेशमान सिंहको अगुवाइमा सुरु भएको अभियान अन्तर्गत आज पहिलो दिन घण्टाघर लिंकरोड क्षेत्रमा टोली परिचालन गरेको हो ।

टोलीमा महानगरका कर्मचारी, राजश्व शाखाका प्रतिनिधि र स्वयंसेवक टोलीहरूले घर र पसलमा पुगेर करको जानकारी दिने, कर नतिर्नेहरूको सूची संकलन गर्ने र समयमै कर तिर्न अनुरोध गर्ने कार्य सुरु भएको हो ।
वीरगन्जलाई आर्थिक रूपमा सबल बनाउँदै नगर विकासलाई तीव्र बनाउनु नै अभियानको मुख्य उद्देश्य रहेको महानगर प्रमुख सिंहले बताए ।
‘सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा पार्क र खेलमैदान जस्ता पूर्वाधार विकासका लागि आम्दानी वृद्धि अनिवार्य छ। कर तिर्ने संस्कारले मात्र हामी समृद्ध र सुन्दर वीरगन्ज बनाउन सक्छौं,’ उनले भने ।
महानगरपालिकाले कर नतिर्ने वा लुकाउने व्यक्तिहरूमाथि कारबाही प्रक्रिया पनि अगाडि बढाउने तयारी गरेको छ। आवश्यक परेको खण्डमा जरिवाना तथा कानूनी कदम चाल्ने महानगरले जनाएको छ ।
यसबाहेक, कर तिर्न सहज बनाउन महानगरमा छुट्टै सहायता कक्ष स्थापना गरेर कर सम्बन्धी परामर्श तथा सहयोग सेवा उपलब्ध गराइन सुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताए ।अनलाइन मार्फत कर तिर्ने प्रणालीलाई समेत सुधार गरी थप प्रभावकारी बनाइने योजना रहेको उनको भनाइ छ ।
महानगरपालिकाले विभिन्न वडामा सचेतनामूलक गोष्ठी, पम्प्लेट वितरण, माइकिङ अभियान र स्थानीय एफएम रेडियो तथा अनलाइन प्लेटफर्ममार्फत प्रचार-प्रसार गर्ने तयारी पनि गरेको छ।
महानगर प्रमुख सिंहले सबै व्यवसायी, घरधनी तथा नागरिकहरूलाई समयमै कर तिर्न अनुरोध गर्दै, वीरगंजको विकासमा सहभागी हुन आह्वान गरे ।