
जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलचोकमा आइतबार बिहान दुइवटा ट्रक एकापसमा ठोक्किँदा भीषण आगलागी भएको छ ।
दुर्घटनामा परी दुवै ट्रकका चालक घाइते भएका छन् । धनुषा प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सिरहाबाट धल्केवरतर्फ जाँदै गरेको ना ६ ख ३४६३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको मधेस प्रदेश–२–००१ ख ०७१५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा आगलागी भएको हो ।
ट्रकको ट्याङ्कीमा ठोक्किएपछि इन्धन चुहिएको र त्यसकै कारण आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। आगलागीका कारण ना ६ ख ३४६३ नम्बरको ट्रक पूर्णरूपमा जलेर नष्ट भएको छ भने अर्को ट्रकमा पनि क्षति पुगेको छ।
चालकहरू घाइते, उपचार जारी
दुर्घटनामा घाइते हुनेहरूमा सर्लाहीको लालबन्दी–१५ का रोशन कौशल कार्की र मौलापुरका मुकेशकुमार झा रहेका छन्। दुवै जनाको जनकपुरस्थित एपोलो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
गलत साइडले निम्त्यायो दुर्घटना
प्रहरीका अनुसार एक ट्रक गलत लेनमा प्रवेश थियो । त्यहीँ कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । यद्यपि, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।