सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष खुशीलाल साह किर्ते तथा जालसाजी मुद्दामा पक्राउ परेका छन् ।
पूर्ववडाध्यक्ष साहलाई सोमबार बिहान घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । हालका वडा अध्यक्ष सुरेश कुमार यादवले २०८० साल फागुन १३ गते ईलाका प्रहरी कार्यालय महेशपुर पतारमा दिएको उजुरीको आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो । वडा अध्यक्ष यादवले गाउँपालिकाको वडा नं. २ का ३७ वर्षीय पूर्व वडाअध्यक्ष साह र सोही वडा बस्ने ६३ वर्षीया नुलुमतिया देवीसमेत गरि दुई जनाले एकआपसमा मिलेमतो गरी अनुचित लाभ लिने काम गरेको भन्दै उजुरी दिएका थिए ।
यी दुवै जनाले वडा कार्यालयलाई जानकारी समेत नदिई घर–बाटो प्रमाणित विषयक नक्कली पत्र तयार गरी नक्कली चलानी नं. समेत राखी उक्त पत्र प्रचलनमा ल्याएको आरोप लगाइएको छ । तत्कालीन सिरहा गाविस मझौरा वडा नं. ८ मा रहेको किता नं. ४९१ को ४ कठ्ठा ४ धुरको जग्गा विक्री वितरण गरेकोले उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही गर्न उजुरीमा माग गरिएको छ ।