बीरगन्ज । मधेश प्रदेशमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनाउन दबाब बढाउन थालेको छ ।
केन्द्रमा बनेको सत्तागठबन्धन अनुसार मुख्यमन्त्री सतिश सिंहको सरकार सय दिन पुगे लगत्तै कांग्रेस मधेश प्रदेशले आफ्नो नेतृत्वको सरकार बनाउन दबाब बढाउन थालेको हो ।
सोही अनुरुप बीरगन्ज आइपुगेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटघाट गर्दै सरकार नेतृत्व लिनका लागि पहल गर्न ध्यानाकर्षण पत्र बुझाइएको छ ।
बीरगन्जस्थित होटल दियालोमा दोस्रो दिन राजनीतिक भेटघाट गरिरहेका कांग्रेस सभापति देउवासंग प्रदेश कार्यसमितिले भेटवार्ता गर्दै सरकारको नेतृत्व लिन आग्रह गरेको बताइएको छ ।
प्रदेशमा पार्टीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सभापति देउवालाई आज ध्यानाकर्षण पत्र समेत बुझाएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभागले जनाएको छ । मधेश कांग्रेसका सभापति कृष्णा यादवले ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाली काँग्रेसको सांगठनिक वा सरकार निर्माण संख्यात्मक भुमिकामा मधेश प्रदेशको योगदान महत्वपूर्ण रहेको यहाँलाई अवगतै छ, मुलुक संघीयतामा प्रवेश पश्चात यस्को महत्व अझै वृद्धि हुँदै गएको छ । मुलुक संघीयतामा प्रवेश पश्चात संवैधानिक निर्वाचन प्रणालीका कारण गठबन्धनबाट मात्र सरकार निर्माण हुने अवस्था छ, संघीय सरकार र विभिन्न प्रदेशहरुको सरकारको नेतृत्व गर्ने अवसर सभापती ज्यूकै सबल नेतृत्वका कारण काँग्रेसले प्राप्त गरिरहेको अवगत नै छ ।’
उनका अनुसार तर मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माण गर्ने विषय अहिलेसम्म प्राथमिकतामा परेको छैन । जसका कारण कांग्रेसका मतदाताहरुमा निरासा बढदै गएको र कार्यकर्ताहरूको आत्म विश्वास कमजोर हुदै गएको प्रदेश कार्यसमितिको पनि ठहर छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यही ठहरलाई मध्यनजर गर्दै प्रदेश कार्यसमितिको असोज ७ गते बसेको बैठक बस्यो, जसमा सभापतिज्यू समक्ष मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार निर्माणमा प्राथमिकताका साथ पहल र अवसरका लागि ध्यानाकर्षण गराउने भन्ने निर्णय भयो । जसअनुरूप यसतर्फ सिङ्गो पार्टी र सभापतिज्यूको गम्भीर ध्यानाकर्षणको लागि हार्दिक अनुरोध गरिन्छ ।’