
बीरगन्ज । बारामा भएको सवारी दुर्घटनामा परी दुइजनाको मृत्यु भएको छ । जिल्लाको फरकफरक स्थानमा भएका दुइ छुट्टाछुट्टै घटनामा उनीहरुको मृत्यु भएको हो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनी चोकस्थित सडकमा स्कारपियोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । पथलैयाबाट बीरगन्जतर्फ आउँदै गरेको नम्बर नखुलेको स्कारपियोले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ६५ वर्षका रत्न कुमारी सुवेदी रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार स्कारपियो र चालकको प्रहरीले खोजी भइरहेको छ ।
यस्तै निजगढ नगरपालिका वडा नम्बर १२ स्थित सडकमा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा चालक २५ वर्षका सुरेन्द्र घलानको ज्यान गएको छ । भने एकजना घाइते भएका छन् ।
प्र.२–०३–००६ प २७८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किदा उनको घटनास्थलमै ज्यान गएको हो । उनी सोही नगरपालिकाको वडा नम्बर १३ निवासी हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सोही ठाँउ बस्ने ४२ वर्षका रामबहादुर बम्जन घाइते भएका छन् । उनलाई सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा उपचारपछि थप उपचारको लागि बीरगन्जस्थित नेशनल मेडिकल कलेज ल्याइएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।