बीरगन्ज । मधेस प्रदेशमा पोखरी तथा खोलामा डुबेर एकै दिन तीन जना नाबालकको ज्यान गएको छ । तीन फरकफरक जिल्लाहरुका पोखरी तथा खोलामा डुबेर उनीहरुको ज्यान गएको हो ।
प्रदेशका रौतहट, धनुषा र सप्तरीस्थित पोखरी तथा खोलामा नुहाउने क्रममा डुबेर दुुइजना नाबालक र एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटको माधवनरायण नगरपालिका वडा नम्बर ५ स्थित झाँझ खोलामा नुहाउने क्रममा डुबेर एकजना नाबालकको ज्यान गयो । ज्यान जानेमा स्थानीय ११ वर्षका पवन साह रहेका छन् ।
यसैगरी धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित धनुष पोखरीमा डुबेर एकजना नाबालिकाको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने विकाउ मण्डलकी छोरी १३ वर्षीया चन्द्रिका मण्डलको मृत्यु भएको हो । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्रहरीले पाएको थियो । सा पश्चात इलाका प्रहरी कार्यालय धनुषाधाम समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बालिकाको शव फेला परेको प्रहरी बताँउछ ।
यता सप्तरीको खडक नगरपालिका–४ पनसेरा निवासी ६ वर्षीय जेन्स कुमार चौधरीको डाक्नेश्वरी नगरपालिका–५ तरहिस्थित राधा कृष्ण मन्दिरको पोखरीमा डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको स्वास्थ्य चौकी पातोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे आवश्यक अनुुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।