बीरगन्ज । पर्साबाट प्रहरीले १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट प्रहरीले एकै दिनमा विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पर्सा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीले चलाएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत दशैंजनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार अदालतबाट सजायको फैसला भइसकेपछि फरार बनेका प्रतिवादीहरुलाई पक्राउ गर्ने प्रहरीले अभियान चलाएको छ । त्यसै अनुसार लुकीछिपी बस्दै गरेका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले पक्राउ पर्नेहरुमा ७ जना कुटपिट मुद्दाका, २ जना जालसाजी र एक जना किर्ते मुद्दाका आरोपित रहेका जनाएको छ । पक्राउ पर्नेहरुमा बीरगन्ज–८ निवासी संध्या देवी कानु पर्साको नगरदाहा–८ निवासी बैधनाथ साह तेली, प्रमोद साह तेली, नगिना देवी साह, अमर प्रसाद साह रहेका छन् । भने निचुटा–५ बस्ने पारस गिरी, पकाहामैनपुर–२ का खुतिनिबा दर्जी, बीरगन्ज महानगरपालिका–८ की संध्या देवी कानु, पोखरीया–१२ का राम प्रसाद महतो धानुक र माया देवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।