बीरगन्ज । बाराबाट प्रहरीले अढाई लाख मुल्यभन्दा बढीका भन्सार छलीका चिनी बरामद गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २५ बाट चिनी बरामद गरेको हो ।
स्थानीय तजमोदिन अन्सारीको घरमा भारतबाट राजश्व छली ल्याइ लुकाइ छिपाई चिनी राखिएको सुचना प्रहरीलाइ आएको थियो । सोही सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले छापामारी २ लाख ५९ हजार मूल्य बराबरका चिनी नियन्त्रणमा लिएको हो ।
प्रहरीले ६१ बोरा चिनी र एक थान बोरा सिलाउने मेशिन समेत नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार वरपरका स्थानीयसँग गरिएको सोधपुछमा कसैले दाबी नगरेकाले सामान पक्राउ गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।