काठमाण्डौँ । दशैँका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात् यस्तो निर्णय गरिएको हो ।
बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिने छ । जहाँ नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुहरुलाई सहजीकरण गर्ने र उनीहरुको गुनासा सुन्ने छन् ।
गत वर्ष भने घटस्थापनाको ६ दिन अघि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको थियो । योपटक अग्रिम बुकिङ खोल्नेबारे कुनै निर्णय नहुँदा दसैंकालागि घर जाने यात्रुहरु अन्योलमा परेका थिए ।
दसैंकाबेला करिब २० लाख काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले घटस्थापना अघि नै देशभरका सडक मर्मतसम्भार गरेर सहज बनाउन सडक विभागलाई निर्देशन दिएका छन् ।
सडक विभागकाअनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । मनसुन सक्रिय भइरहेकाले भने मर्मतमा केही समस्या भएको विभागले जनाएको छ ।