
काठमाण्डौँ । चाडपर्व लक्षित गर्दै विशेष सुरक्षा योजना बनाइ लागु गर्न प्रहरी मातहतका प्रमुखहरुलाई निर्देशन दिइएको छ । आज ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई यस्तो निर्देशन दिइएको हो ।
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा यस्तो निर्देशन दिएका हुन् । समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा आज सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिएका हुन् ।
निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिए ।
विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न एवम् आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणको लागि थप सक्रिय भई लाग्न उनको निर्देशन थियो ।