बीरगन्ज । जिल्ला प्रहरी कार्यालय धनुुषाको हिरासत कक्षबाट फरार भएका ९ जना थुनुुवा पक्राउ परेका छन् ।
हिरासत कक्षको भेन्टिलेसन फुटाएर भागेका ९ जना थुनुवालाई पक्राउ गर्न धनुुषा प्रहरी सफल भएको हो । हिरासत कक्षकै भेन्टिलेसन फुटाएर फरार भएका थुनुवाहरुलाई करिब २८ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ ।
फरार थुनुवाहरुको खोजीका लागि खटिएका प्रहरीको टोलीले ९ जनालाई नै पक्राउ गर्न सफल भएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले पुष्टि गरे । उनका अनुसार तीन जना जनकपुरबाट, १ जनालाई नेपाल–भारतको सीमाबाट र ५ जनालाई भने लखौरीबाट पक्राउ परेका हुन् ।
करिब ४ सयको हाराहारीमा खटिएको प्रहरी टोलीले ती सबै थुनुवाहरुलाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
कसरी मिल्यो सफलता ?
हिरासतबाटै झिसमिसे उज्यालोमा थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालयमा हलचल मच्चियो । प्रहरीमा मच्चिएको हलचलले प्रहरी प्रमुखलाई मात्र हल्लाएन, प्रदेशका कमाण्डरसहित प्रहरी नेतृत्वलाई नै चकित बनायो ।
त्यसपछि प्रदेश प्रहरीको समन्वयमा फरार थुनुवाहरुको खोजीका लागि विशेष सुरक्षा योजना अनुरुप प्रहरी परिचालन गर्ने रणनीति बुनियो । त्यही रणनीति बमोजिम प्रदेश प्रहरीसंगै सशस्त्र प्रहरीसहित जिल्लाबाट करिब चार सय जना प्रहरी परिचालन गरिएको धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।
उनका अनुसार थुनुवाहरु फरार भएलगत्तै प्रहरीले तीन जिल्लाका सबै सीमामा नाकाबन्दी गर्ने रणनीति लियो । त्यसपछि भारतसंग समन्वय गरेर तीन जिल्लाका सबै नाकासिल गरिएको उनी सुनाउँछन् ।
धनुषा, सिरहा र महोत्तरी जिल्लामा पर्ने सबै नाका शिलबन्दी गर्ने रणनीति बनाउँदा थुनुवा पक्राउ गर्न प्रहरी सफल भएको उनले जनाए । उनका अनुसार यस घटनामा भारतीय सुरक्षा निकायले समेत पूर्ण रुपले नेपाल प्रहरीलाई सघायो ।भारतीय पक्षबाट नाकाबन्दी गर्न आनाकानी भएको भए कोही थुनुवा पक्राउ नपर्ने उनको भनाइ थियो ।
छानविन गर्न समिति गठन
प्रहरीको हिरासत कक्षबाट थुनुवा फरार भएको घटनाले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको छ । सामाजिक सञ्जालदेखि लिएर सञ्चार माध्यममा समेत प्रहरीको मिलोमतोमा थुनुवा भगाइएको भन्दै प्रहरीको चर्को आलोचनासहित समाचारहरु सम्प्रेषण भएका छन् ।
चौतर्फी प्रहरीको आलोचना भइरहँदा घटनाको छानविन गर्न ५ सदस्सीय टोली गठन गरिएको छ । मधेश प्रदेश प्रहरीको समन्वयमा घटनाको छानविन गर्न ५ सदस्सीय छानविन टोली गठन गरिएको हो ।
प्रहरीका अनुसार डिएसपीको नेतृत्वमा घटनाको छानविन गर्न पाँच सदस्यीय टोली गठन भएको हो । टोलीले प्रतिबेदन बुझाइसकेपछि सोहीअनुसार दोषीलाई कारबाही गरिने धनुषा प्रहरी प्रमुख तिवारीले बताए ।
सोमबार (हिजो) विहान ४ बजे धनुषा प्रहरीको हिरासतबाट फरकफरक मुद्दाका ९ जना थुनुवा भागेका थिए । पहिलो दिन अर्थात् सोमबार नै ७ जना थुनुवालाई विभिन्न ठाउँबाट पक्राउ गरिसकेका धनुषा प्रहरीले अन्य दुइ जनालाई भने मंगलबार विहानसम्म पक्राउ गरेको जानकारी दिएको छ ।