सप्तरी । मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखीले मधेसमा डिजेमाथि प्रतिबन्ध लगाउनुपर्ने जरुरी भइसकेको बताएका छन् ।
बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका नगरपालिकाको वडा नम्बर– २ बरमझियास्थित सशस्त्र प्रहरी बलको विशेष तालिम शिक्षालयमा ब्यारेक र मेस भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखीले यस्तो बताए ।
मधेसमा डिजे एउटा समस्याको रूपमा संस्थागत भइरहेको उनको बुझाइ छ । त्यसकारण अक यसलाई रोक्नुपर्ने अपरिहार्य भइसकेको उनको बुझाइ छ ।
उनका अनुसार यो समस्याप्रति मधेसका सबै स्थानीय तहहरुले सक्रिय हुनुपर्छ, उनीहरुले नै प्रतिबन्ध गर्नुपर्ने हुन्छ ।
मधेस प्रदेश सरकारको गृह,सञ्चार तथा कानून मन्त्रालयले चालू आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक बजेट अन्तर्गत ५० लाख रुपैयाँको बजेटबाट उक्त भवन बन्न लागेको तालिम केन्द्र शिक्षालयका एसएसपी नेत्रबहादुर कार्कीले बताए ।
शिलान्यास कार्यक्रममा मन्त्री लेखीले आगामी वर्षहरूमा सुरक्षा निकायहरूको भौतिक संरचना निर्माणमा प्रविधिसँग मेल खाने नवीनतम परियोजनाहरू समेत ल्याउन लागेको सुनाए ।
उनले भने, ‘समाजमा हुने जुनसुकै प्रकारका अपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई थप सशक्त,सक्षम,सवल बनाउनुपर्छ, त्यहीकारण हामीले शिक्षालयको भवनको शिलान्यास गरेका हौं । अब विश्वास छ यसले विशेष तालिम प्रदान गरी सुरक्षा क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन गर्नेछ ।’
शिलान्यास कार्यक्रममा सप्तरीको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादव,सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, कञ्चनरुप नगरपालिकाका उप–मेयर मुना कुमारी पोखरेल, वडा नम्बर २ का अध्यक्ष मेहेन्दी हुसेन, वडा
नम्बर– १२ का अध्यक्ष देवी बहादुर खत्री, सप्तकोशी नगरपालिका वडा नम्बर– २ का वडाअध्यक्ष जाहिर हुसेन लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति थियो ।