धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले महोत्तरीको बर्दिबासस्थित पाँच वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
अवैध तथा अनाधिकृत ढङ्गले चिकित्सासेवा प्रदान गर्दै आएका पाँचवटा अस्पताललाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका हुन् ।
उनले शुक्रबार ८ वटा अस्पतालहरुमा अनुगमन गरेका थिए । तिमध्ये पाँच अस्पताल बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एण्ड डेन्टल क्लिनिक प्राली, ऊ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खेमुसुरा डेन्टल क्लिनिक प्राली बन्द गर्न निर्देशन दिएका हुन् ।
सेवा सञ्चालन अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताललाई तत्काल बन्द गरी विधि र प्रक्रिया अनुसार अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।
अनुगमनक्रममा बर्दिवासस्थित महेन्द्र डेन्टल क्लिनिक प्रालिले सेवा सञ्चालन स्वीकृति लिएको पाइएको छ । सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल प्रालि र डि.एन.बि मेडिकेयर सेन्टर प्रालिलाई नवीकरण गराउन मुख्यमन्त्री सिंहको निर्देशन छ ।
केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिँहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिँदै आएका छन् ।