ट्रेन्डिङ

जरिवानको ५० देखि लिएर ५ सय रुपैयाँसम्म नतिर्दा ६ जना फरार प्रतिवादी जनकपुरबाट पक्राउ

जनकपुर । धनुषा प्रहरीले ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा शनिबार प्रहरीले ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै धनुषा प्रहरीले विभिन्न मितिमा अदालतबाट भएको जरिवाना तथा कैद सजाय भुक्तान नगरी लुकीपिछपी बस्दै आएका फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीको विशेष टोलीले कुटपिट मुद्दाका ३ जना जुवा मुद्दाका एकजना, सार्वजनिक अपराधका एकजना र ६ महिना कैद सजाय भएका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जनाए ।

उनका अनुसार अदालतको फैसला भइसकेपछि लुकीछिपी बस्दै आएका सबै फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका फरार प्रतिवादीहरुमध्ये अधिकांशले जरिवाना रकम नतिरेका प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

फरार प्रतिवादीहरुमाथि ५० रुपैयाँदेखि लिएर बढीमा ५ सयको जरिवानाको फैसला भएको उक्त विज्ञप्तिमा भनिएको छ । यही जरिवानाको रकम नतिरेकाकारण सबैलाई पक्राउ गरिएको प्रहरी भनाइ छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालतमा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै