काठमाण्डौँ । वितेको एक महिनामा देशभर साढे चार सयभन्दा बढी आगलागीका घटना भएका छन् । चालु आर्थिक वर्षको माघ महिनामा मात्र चार सय ७८ वटा आगलागीका घटना भएका हुन् ।
ती घटनाहरुमा परी २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसरी मृत्यु हुनेहरुमा एक बालक, ११ जना पुरुष तथा १० जना महिलासमेत छन् । आगलागीका कारण ८७ जना घाइते भए । जसअनुसार चार जना बालक, ५४ महिला तथा २६ पुरुष घाइते भएका प्रहरीको तथ्यांक छ ।
यसैगरी आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यो एक महिनामा सबैभन्दा बढी कोशी प्रदेशमा आगलागीका घटना भएको प्रहरीको आँकडा छ । अर्थात् त्यो प्रदेशमा मात्र एक महिनामा एक सय २९ वटा त्यस्ता घटना भएका छन् ।
यसपछिको सुचीमा मधेस प्रदेश छ । अर्थात् मधेशमा यो समयमा ८९ वटा घटना भएका छन् । यस्तै बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा ३९, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आगलागीबाट ६८ वटा घर, ६६ वटा गोठमा क्षति भएको छ । भने कूल दुई सय ४७ वटा पशुचौपाय मरेका छन् ।
आगलागीबाट १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।